Correspondent, ParbatNepal
8 years ago
2826
रोशन तिवारी फागुन १६ पर्वत । गर्मी मौसम शुरु भएसँगै पर्वतमा डढेलो नियन्त्रण मुख्य चुनौती देखिएको छ । विशेषगरी फागुनदेखी जेठको अन्तिम सातासम्म हुने प्रचण्ड गर्मीमा बनजंगलमा लाग्ने डढेलोका कारण पर्वतमा सयौँ हेक्टर क्षेत्रफलमा आगलागी लाग्ने गरेको छ । चालु आर्थिक बर्षमा पर्वतमा ५ ठाउँमा डढेलो लागिसकेको छ । गत बर्ष २०७२÷०७३ मा पर्वतका ६१ ठाउँमा डढेलो लागेको थियो । वन विकासको लागि सम्भावना रहेको पर्वतमा बन अतिक्रमण, डढेलो र वनपैदावर चोरी बन जोगाउन चुनौतीको रुपमा रहेका छन् ।
पर्वतको कुश्मामा वन डढेलो सम्वन्धी सरोकारवाला सँग मंगलबार गरिएको अन्र्तक्रिया कार्यक्रममा वोल्दै सरोकारावालाहरुले वन डढेलो नियन्त्रण पर्वतमा चुनौतीपूर्ण रहेको बताएका छन् । कार्यक्रममा बोल्ने बक्ताहरुले वन डढेलो नियन्त्रणको लागि साझा संकल्प आवश्यकता रहेको औल्याएका थिए । उनीहरुले वनको संरक्षणको लागि राजनैतिक दल, सामुदायिक वन, वन कार्यालय, उपभोक्ता समिति वीच समन्वय हुनु आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी राजेश पंथीले सकेसम्म आगो लाग्नै नदिने र लागेमा नियन्त्रण कसरी गर्ने, कारवाहिलाई कडाई गर्ने र स्थानियख तह देखी जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो । उहाँले वन डढेलो नियन्त्रणका लागि सम्पूर्ण उपभोक्ताहरु सचेत र सजग हुनुपर्नेमा जोड दिनुभयो । जिल्ला वन अधिकृत कृष्णप्रसाद ढकालले वनजंगलमा जडिवुटि, बन पैदावार, वन्यजन्तुको नाश हुने समस्या वढेको वताउनुभयो ।
उहाँले बनको नाश संगै पर्यावरणमा असर, जलवायु परिवर्तन, हरित गृह उत्सर्जन, भूक्षय, पहिरो जाने र बनको सुन्दरतामा ह्रास हुँदै गएको बताउनुभयो । वन डढेलो लाग्नुमा प्राकृतिक कारणमात्र नभएर मानवीय क्रियाकलाप म्ख्य कारक रहेको औल्याइएको छ । आगो मान्छेले नै लगाउने भएकाले यसवाट जैविक विविधता नष्ट हुने काम भएको उहाँको भनाई थियो ।
कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटा लगायतले बोल्नुभएको थियो । जिल्ला वन अधिकृत कृष्णप्रसाद ढकालको अध्यक्षातामा सम्पन्न भएको कार्यक्रममा सहायक जिल्ला वन अधिकृत शिव परियारले स्वागत तथा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन सहायक लेखापाल श्यामकुमार पौडेलले गर्नुभएको थियो । पर्वतमा २६ हजार ६ सय ४० हेक्टर क्षेत्र वनले आगटेको छ । जसमा सामुदायिक वन ३८२, कवुलियती वन ६ वटा, निजी वन ३८ वटा र संरक्षित वन १ वटा रहेका छन् । पर्वतमा वार्षिक ४६१ हेक्टर बन क्षती हुने गरेको छ । बन कार्यालयका अनुसार पञ्चासेमा १०७ प्रकारका सुनगामा पाईन्छन। खर्सुवास, रेसापातल, हम्पाल लगायतका बनमा लोठसल्ला, जटामसी, पाँच औले, सतुवा जस्ता जडिबुटि पाईन्छन् । त्यस्ता जडिबुटिको पनि आगालागीले क्षती हुँदा राज्यलाई लाखौँ नोक्सानी हुने गरेका कारण बनको संरक्षण गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
