Correspondent, ParbatNepal
8 years ago
2099
रोशन तिवारी । फागुन २२ पर्वत । पर्वतका सात वटा ग्रामीण सडक कालोपत्र हुने भएका छन् । २०५६ मा ट्रयाक खुलेको दोबिल्ला–फलेवास सडकको आधाजसो भाग कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । दोबिल्ला–फलेवाससंगै जोडिएको मुडिकुवा–झकलाक र फलेवास लुङ्खु सडकको कालोपत्र शुरु भएको एक वर्षबढी भइसक्यो । कुश्मा–खुर्कोट सडक कालोपत्रेको टेण्डर भएर अघि बढेको छ । डिमुवा–राम्जा–चित्रे सडकको पनि कालोपत्र शुरु भएको छ ।
करिव २२ सय किलोमिटर ग्रामिण कच्चि सडक सञ्जालले जेलिएको पर्वतका गाउँमा नयाँ ट्रयाक खन्ने काम बन्द गरेर गतवर्षदेखि स्तरोन्नतीको काम शुरु भएको छ । दुई दशक अघिदेखि गाउँमा ट्रयाक खोल्न शुरु गरेको तत्कालिन जिविस पर्वतले गतवर्षदेखि ट्रयाक खोल्न बन्द गरेर स्तरोन्नती र कालोपत्रलाई जोड दिएको थियो । चालु वर्षदेखि कार्यान्वयनमा आएका स्थानीय तहले जिससको पुरानै योजनालाई निरन्तरता दिँदै भइरहेका सडकहरुको स्तरोन्नतीलाई अघि बढाएका हुन् ।
यो वर्ष जिल्ला सदरमुकामलाई स्थानीय तहसम्म जोड्ने ६ वटा मुख्य सडक कालोपत्रे र एउटाको स्तरोन्नती शुरु भएको छ । मुख्य ग्रामिण सडक डिमुवा–राम्जा–चित्रे, दोबिल्ला–फलेबास र घुम्ती–लाम्पाटा–पाङ–खनियाघाट सडकको कालोपत्र अघिल्लो वर्षदेखि नै सडक बिभागले शुरु गरेको छ ।स्थानीय पुर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र एसियाली विकास बैंकको सहयोगमा अरु चार सडक कालोपत्रे र स्तरोन्नती धमाधम अघि बढेको छ । अघिल्लो वर्षदेखि सडक बिभाग र जिससले कालोपत्र तथा स्तरोन्नतीको सूचीमा राखेका सडकलाई स्थानीय तहले पनि साझेदारीमा निरन्तरता दिन थालेका छन् । चालु वर्ष मात्रै करिव ६० करोड रुपैयाँ खर्च हुने भएको छ ।
अघिल्लो वर्षदेखि शुरु मुडिकुवा–झकलाक, फलेबास–लुँखुु–हुवास र सिल्मी–ठुलीपोखरी–कार्कीनेटा सडकको लक्ष्यअनुसार नै प्रगति अघि बढेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । स्थानीयस्तरका कृषि सडक र आर्थिक केन्द्र जोड्ने सडकका लागि आउने बजेट स्थानीय तहमै गएको छ,’ प्रमुख जिल्ला इन्जिनियर जगदिश शर्माले भने, ‘केन्द्रबाट डाइरेक्ट आउने बजेटको काम हामीले नै गरिरहेकै छौं । क्रमागत योजना स्थानीय तहसंगै मिलेर अघि बढेका छन् ।
सिल्मी–ठुलीपोखरी–कार्कीनेटाको स्तरोन्नती भइरेको छ । कालोपत्रे बाहेक चौडा, रिटेनिङ वाल, नाली, कल्भर्टलगायत सबै ग्रामिण सडक पुर्वाधार विकास कार्यक्रम अन्तर्गत भइरहेको छ । अघिल्लो वर्ष शुरु भएका साढे १३ किलोमिटर स्तरोन्नतीका लागि १४ करोड ३६ लाख ८४ हजार बजेट बिनियोजन भएको थियो । मुडिकुवा–झकलाक–कुर्घा कालोपत्र गर्न दुई वर्षअघि १४ करोड २१ लाख १० हजार बजेट बिनियोजन भएको थियो । लामो समय ठेकेदार कम्पनीको लापरवाहिले रोकिएको काम चालु वर्षदेखि धमाधम अघि बढेको छ । यो सडक कालोपत्रे भएपछि फलेवास नगरपालिका र महाशिला, पैयुं तथा बिहादी गाउँपालिकालाई सदरमुकाम जोड्न सहज हुनेछ ।
सडक बिभागले कालोपत्रे शुरु गरेको डिमुवा–राम्जा–चित्रे ७ दशमलव २ किलोमिटरका लागि १० करोड ३९ लाख ५४ हजार बजेट छ । दोबिल्ला–फलेबास (७.६) किलोमिटर कालोपत्र गर्न १३ करोड ५१ लाख ५ हजार र घुम्ती–लाम्पाटा–पाङ–खनियाघाट ३ किलोमिटरका लागि छ करोड ९६ लाख ९० हजार ति सडक दुई वर्ष्भित्र कालोपत्रे भइसक्ने सडक डिभिजन कार्यालयले जनाएको छ । सम्झौता गरिएका सडकमा अघिल्लो वर्ष अर्थ मन्त्रालयले बजेटमा कन्जुस्यांई गर्दा काम केहि कम भएको डिभिजन सडक कार्यालय बाग्लुङका प्रमुख इन्जिनियर थानेश्वर खत्रीले बताए । ‘अघिल्लो वर्ष हामीले मागेको बजेट पाइएन,’ प्रमुख इन्जिनियर खत्रीले भने, ‘यो वर्ष मागेजति बजेट पाइए समयमै काम सकिन्छ ।’ दोबिल्ला फलेवास र वारीबेनी–मल्लाज सडकको प्रगति अन्तिम चरणमा पुगेको उनले बताए । त्यस्तै डिमुवा–राम्जा २५ प्रतिशत र घुम्ती–लाम्पाटाको ५० प्रतिशत सकिएको डिभिजन कार्यालयले जनाएको छ ।
ग्रामिण सडक कालोपत्रेपछि नयाँ स्थानीय तहका संरचनालाई बढी फाइदा पुगेको स्थानीय तहका प्रमुखहरुले जनाएका छन् । ‘मुख्य ग्रामिण वस्तीलाई लक्षित गरेर कालोपत्रको स्टमेट भएको छ,’ जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले भने, ‘पुर्वाधारमध्ये हामीले छुट्ट्याएको बजेटले सडक मर्मतमै ध्यान दिएका छौं ।’ हिउँदका केहि महिना मात्रै सञ्चालन हुने सडकले बिशेषगरि जिल्लाका दक्षिणी क्षेत्रका बासिन्दाले बढी सास्ती झेल्दै आएका थिए । दोबिल्ला–फलेबास र कुर्घा–लुङ्खु–हुवास सडक कालोपत्रे भए दक्षिणी पर्वतका तीन गाउँपालिका र एक नगरपालिकाबासीलाई फाइदा पुग्छ । दक्षिणका सबैजसो स्थानीय तहले ग्रामिण सडक बाह्रै महिना सञ्चालन गर्न दिगो स्रोतको व्यवस्थापन गरेको जनाएका छन् ।
