Correspondent, ParbatNepal
8 years ago
1591
रोशन तिवारी फागुन २२ पर्वत । यहाँका ग्रामीण सडकमा कम मात्रामा सवारी चल्छन् । कम सबारी र यात्रुको चाप बढि हुने कारण मानिसहरु झुण्डिएर र छतमा बसेर यात्रा गर्न बाध्य रहेका छन् । सदरमुकाम बाहेक अन्यत्र पक्कि सडक छैन् । दुई नगरपालिका र पाँच गाउँपालिकामा धुले र कच्चि सडक रहेको पर्वतका ग्रामीण क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्दै आईरहेका छन् ।
सबारीसाधनहरुमा हुने भिडभाडले ग्रामीण क्षेत्रको यात्रा संधै जोखिमपूर्ण हुने गरेको हो । ‘भनेको वेला गाडी पाईन्न । कोचिएर भएपनि गन्तव्यमै पुग्नैपर्छ,’ ठुलीपोखरीकी सिता लामिछानेले भनिन्,‘ ज्यान हत्केलामा राखेर यात्रा गर्नुपर्छ ।’ ग्रामीण क्षेत्रका सडक खाल्डाखुल्डी र साँघुरा छन् । साँघुरा र अप्ठ्यारा सडकमा क्षमताभन्दा बढि यात्रु चढाउने होडबाजीले यात्रा जोखिमपूर्ण बनेको उनले वताईन् ।
‘लाखौँ हालेर जीप किनेको महिना पुग्दा किस्ता तिर्नुपर्छ,’एक चालकले भने,‘जतिसक्दो मान्छे नकोचे महिनाभरिको किस्ता तिर्नै गाह्रो हुन्छ । यो हाम्रो वाध्यता हो ।’ वस व्यवसायीहरुको लापरवाहि मात्रै होइन यात्रुहरुको हतारोले पनि सवारी साधानमा भिड हुने गरेको ट्राफिक प्रहरी वताउँछ । प्रहरी प्रमुख महेन्द्र रानाभाटका अनुसार प्रहरीले बढि यात्रु राख्ने सबारीचालकहरुलाई कारबाहि गर्ने गरेको छ । तर कहिलेकाँहि व्यवहारिक कुराले समस्या पर्ने गरेको रानाभाटले वताए । ‘यात्रुहरुलाई नै हतार भएको हुन्छ । भीड भएपनि उनीहरु चढ्नैपर्छ । हामीले चालकलाई मात्रै कारबाहि गरेर समस्याको समाधान हुँदैन ।’ उनले भने–‘ग्रामीण क्षेत्रका सडक नै अप्ठ्यारा छन् त्यसमाथी कम मात्रै सबारी चल्छन् ।’
पर्वतको कुश्मा हुँदै हुवास जाने सडकमात्रै ग्राभेल भएको छ । अन्यत्रका सडकहरु सबै समान किसिमका छन् । सबै सडक धुले र कच्चि छन् । धेरैजसो सडकको ग्रेड मिलेको छैन् । बर्षेनी मर्मत भएपनि सडक वर्खामा जस्ताको तेस्तै हुन्छन् । हिउँदका ६ महिनामात्रै चल्ने मौसमी सडकले सर्वसाधारणहरु मारमा पर्दै आएका छन् । सडककै अवस्थाका कारण ग्रामीण क्षेत्रमा गाडी चलाउन व्यवसायीहरु मान्दैनन् । ग्रामीण क्षेत्रका सडकमा त्यहि भएर कम गाडी गुड्ने गर्छन । सडक मर्मतमा सरकारी निकायले सबैभन्दा बढि वजेट खर्चिने गरेका छन् ।
ग्रामिण सडकलाई व्यवस्थीत गर्न नवगठित गाउँ नगरहरुले विकासबजेटको ७० प्रतिशत भन्दा धेरै बजेट बिनियोजन गरेका छन् । फलेवास नगरपालिका र पैयुँ गाउँपालिकाले चालु वषैमै डोजर र ट्रिपर खरिदको प्रकृया शुरु गरेका छन् । फलेवासले एक करोड र पैयुंले ५० लाख डोजर खरिदमा छुट्याएका छन् । यसअघिका गाउँपरिषदहरुले वार्षिक बजेटको ८० प्रतिशत सम्म सडकमा लगानी गर्दै आइरहेका थिए । प्राविधिक कार्यालयका अनुसार नेपाल तथा बृटिस सरकारको सहयोगमा सञ्चालित (डिएफआइडी) परियोजनाले मासिक १५ लाख सडक मर्मतमै खर्चिंदै आएको छ ।
जिल्लाको सदरमुकाम कुश्मा हुँदै चल्ने सवारी नपाएर दक्षिणका वासिन्दा स्याङजाको बाटो प्रयोग गर्न बाध्य छन् । सबै भन्दा बढि सडकमा बजेट पर्ने भएपनि दिगो सडक नवन्दा स्थानीय सास्ती पाउन बाध्य रहेका छन् । कच्ची सडकमा हिँड्न समस्या भएपछि कतिपय प्रदल मार्फत नै गन्तव्यमा पुग्ने गरेका छन् ।
