Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2254




प्रेमिकाको हत्या गर्ने वरौचारका प्रदीप जेल चलान
प्रेमिकाको हत्या गर्ने वरौचारका प्रदीप जेल चलान

पर्वत, २२ फागुन -आफ्नै प्रेमिकालाई हत्या गरेर कालीगण्डकी नदीमा बगाएको आरोपमा पक्राउ गरेका एक युवा पुर्पक्षका लागि थुनामा परेका छन् ।  प्रेमिकालाई हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय प्रदीप पराजुलीलाई अदालतले थुनामा राख्ने आदेश दिएको हो ।


बागलुङ जैमिनी नगरपालिका–८ घर भएकी २२ वर्षीया कमला शर्मालाई उनैले लगाएको सलले घाँटीमा पासो लगाएर हत्या गरी पराजुलीले कालीगण्डकी नदीमा बगाएका थिए । गत माघ ५ मा शर्मा र पराजुली पर्वत र गुल्मी जिल्लाको सिमानाकोे कालीगण्डकी पूर्तिघाट झोलुंगे पुलमा भेट भएका र युवतीले पराजुलीको सम्बन्धबाट आफू गर्भवती भएको भन्दै तत्काल विवाह गर्न अनुरोध गरेपछि पराजुलीले युवती शर्माको प्रस्तावलाई अस्वीकार गर्दै हत्या गरेको बयान दिएका थिए ।


पराजुलीले परिवारसामु आफैले हत्या गरेको बताएपछि परिवारले प्रहरीलाई बुझाएका थिए । प्रहरीसमक्ष समेत पराजुलीले आफैले मारेको बयान दिएपछि प्रहरीले पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो । सोही मुद्दा उपर थप अनुसन्धानका लागि भन्दै पर्वत जिल्लाका जिल्ला न्यायाधीश धु्रवप्रसाद सापकोटाको इजलासले सोमबार पराजुलीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो ।


उनी अहिले पर्वत जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन् । माघ ५ गतेदेखि युवती हराएपछि पीडित परिवारले करिब पाँच दिनपछि १० माघमा जिल्ला प्रहरी कार्यालय बागलुङमा खोजतलासका लागि उजुरी दिएका थिए ।  जिल्ला प्रहरी कार्यालय, बागलुङसहित जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय गुल्मी मातहतका प्रहरी एकाइबाट खोजतलास गर्दा उनको शव गुल्मीको कालीगण्डकी गाउँपालिका–४ घुमाउनेमा माघ १७ मा फेला परेको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)