Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1765




पर्वतका गणेश तिमिल्सीना राष्ट्रियसभा अध्यक्ष बन्ने पक्का
पर्वतका गणेश तिमिल्सीना राष्ट्रियसभा अध्यक्ष बन्ने पक्का

फागुन २८ पर्वत । कपा एमालेले गणेशप्रसाद तिमल्सिनालाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। सोमबार बिहान सिंहदरबारमा बसेको शीर्ष नेताको बैठकले तिमल्सिनालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने निर्णय गरेको हो।

पर्वत जिल्लाका तिमल्सिना प्रदेश नम्बर ४ बाट निर्वाचित राष्ट्रिय सभा सदस्य हुन्। दिउसो एक बजे राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि मनोनयन दर्ताको समय तोकिएको छ। अध्यक्ष पदका लागि बुधबार निर्वाचन हुने कार्यतालिका छ।

संविधानको धारा ९२ मा ‘राष्ट्रिय सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र राष्ट्रिय सभाका सदस्यहरूले आफूमध्येबाट राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्ने’ उल्लेख छ। राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष मध्ये एक जना महिला हुने संवैधानिक व्यवस्था छ।

प्रदेश सभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मणडलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ जना गरी निर्वाचित ५६ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित कम्तीमा एक जना महिला सहित तीन जना गरी राष्ट्रिय सभामा ५९ सदस्य छन्।

स्थायी सभाका रुपमा रहेको राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुने संवैधानिक व्यवस्था छ। राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ।

यो संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्षको हुने गरी पदावधि कायम गरिने संविधानमा व्यवस्था छ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)