Correspondent, ParbatNepal
8 years ago
1777
पर्वत,
फागुन ३०–जलजला गाउँपालिकाले अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को गाडीमा बम राखेर
हत्या प्रयास गरिएको दाबी गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सिमा पुनसहित नौ वटै वडाका
अध्यक्षले संयुक्त पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्षको नियोजित रुपमा हत्या गर्ने
मनसायले बम राखिएको दाबी गरेका हुन ।
‘यो तर्साउनका लागि राखिएको बम होइन,
नियोजित रुपमा अध्यक्षको हत्या गर्ने मनसाय देखिन्छ’ गाउँपालिकाका प्रवक्ता एवम्
वडा नम्बर ३ का वडा अध्यक्ष देबिन्द्रबहादुर भण्डारीले भने । उनले गाउँपालिकाका
अध्यक्षको सवारीमा बम राखेर उहाँले भाडामा लिएको एक्साभेटरमा आगो लगाइएको बताए ।
‘एक्साभेटरमा आगो लगाएपछि गाउँपालिकाका
अध्यक्ष आफ्नो गाडी लिएर जाने र गाडी चलाउने क्रममा बम बिष्फोट हुने सेटिङ मिलाएको
देखिन्छ’ भण्डारीले भने–‘धन्न अध्यक्ष मल्ल घरमा नभएका कारण त्यो घटना हुन पाएन ।’
जलजला ८ का वडा अध्यक्ष हरिविकास जिसीले अध्यक्षको नियोजित रुपमा हत्या गर्ने उद्देश्यले
बम राखिएको बताए ।
‘घटनाको प्रकृति हेर्दा हत्या गर्ने
षडयन्त्र नै देखिन्छ, यो घटना आम जनप्रतिनिधि र आम नागरिकको सुरक्षासँग जोडिएको छ’
उनले भने । गाउँपालिकाका उपाध्यक्ष सिमा पुनले गाडीमा बम राख्ने र एक्साभेटरमा आगो
लगाउने घटनाले असुरक्षा बढाएको बताइन् । उनले तत्काल दोषी सार्वजनिक गरी कारबाही
गर्न माग पनि गरिन् ।
गाउँपालिकाले घटना भएको तीन दिन हुँदासमेत
प्रहरी प्रशासनले घटनामा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गर्न नसकेकोमा गुनासो
गर्दै तत्काल दोषी पत्ता लगाउन माग गरेको छ । ‘सवारीमा बम राख्ने, विकास निर्माणका
लागि ल्याइएको एक्साभेटर जलाउने कार्यले जनप्रतिनिधिमात्रै होइन सर्बसाधारण र
ब्यावसायिक स्वतन्त्रतालाई नै आतंकित बनाएको छ’ जलजला ४ का वडा अध्यक्ष भिष्म
मल्लले भने ।
मंगलबार बिहान जलजला गाउँपालिकाका अध्यक्ष
मल्लको कुश्मा नगरपालिका १ सहस्रधारास्थित घरमा पार्किङ गरिराखेको गाडीमा अज्ञात
समुहले बम राखेको थियो । रातो प्लाष्टिकले बेरिएको अवस्थामा भेटिएको प्रेसर कुकुर
बम नेपाली सेनाले निष्क्रिय पारेको थियो । त्यस्तै मंगलबार बिहान करिब १ बजे जलजला
गाउँपालिका वडा नम्बर ८ मा ग१क ३६३७ नम्बरको एक्साभेटर (जेसिबी)मा अज्ञात समुहले
आगजनी गरेको थियो ।
यसैबिच मल्लको गाडीमा बम राखिएको र बाबुराम कार्की र शिव घर्तीको जेसिवीमा आगजानी गरिएको घटनाको नेपाल मानवअधिकार संगठन पर्वतले भत्र्सना गरेको छ । बम र स्काभेटरमा आगजनी गरेकोमा नेपाल मानव अधिकार संगठन पर्वतले विज्ञप्ति निकाल्दै भत्सर्ना गरेको हो ।
