Correspondent, ParbatNepal
8 years ago
1607
फागुन ३० पर्वत । यहाँका एक यूवाले बिहेभोजको खर्च कटौती गरेर बिद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । पर्वतको कुश्मानगरपालिका १२ ठूलीपोखरीका मिलन पौडेलले आफ्नो बिहेमा भोज गर्ने खर्च नगरिकन आफु अध्ययन गरेको जनता सुदर्शन माविमा एक लाखको अक्षयकोष स्थापना गरेका हुन् ।
रोट¥याक्ट क्लवका अध्यक्ष समेत रहेका पौडेलले मंगलबार एक समारोहको आयोजना गरि अक्षयकोष स्थापना गरेका हुन् । समाजसेवामा रुची राख्ने उनले बिहेमा गर्ने खर्च समाजसेवामा लगानी गर्नुपर्छ भन्ने सन्देश दिन यसो गरेको बताए । ‘बिहेमा गर्ने खर्च एकछिनको रमाईलोमै सकिन्थ्यो । तर, बिद्यालयको अक्षयकोष आफु मरेर गएपनि रहिरहन्छ त्यहि भएर मैले अक्षयकोष स्थापना गरेको हुँ,’उनले भने ।
गाउँको बिद्यालयमा अक्षयकोष स्थापना गर्दै उनले यसबाट बार्षिक रुपमा आउने व्याजले बिद्यार्थीहरुलाई छात्रवृती बितरण गर्ने व्यवस्था मिलाएका छन् । पौडेलको बिबाह यहि फागुन २८ गते कुश्मा नगरपालिका १३ खौलालाँकुरीकी अञ्जली शर्माका साथ भएको थियो ।
छोराले बिबाह खर्च कटौती गरेर बिद्यालयलाई सहयोग गरेकोमा उनका बुवा राजेन्द्र पौडेलले खुशी ब्यक्त गरेका छन् । छोराले समाजसेवामा देखाएको रुची परिवारलाई नै पुलकित बनाएको उनले बताए पौडेल सोहि वडाका वडाध्यक्ष पनि हुन् । वडाध्यक्ष पौडेलकै आतिथ्यतामा कार्यक्रम गरि अक्षयकोष स्थापना गरिएको थियो । रोट¥याक्ट क्लव अफ पर्वतको सप्ताहव्यापी कार्यक्रम पनि अक्षयकोष स्थापना गरि शुरु भएको छ । चैत्र ६ गते सम्म बिभिन्न कार्यक्रम गरि सप्ताह मनाईँदै छ ।
