Correspondent, ParbatNepal
8 years ago
1798
रोशन तिवारी फागुन २८ पर्वत । फलेवास नगरपालिकाका कृषकहरुले नगरपालिकाले मौरीपालनमा सहयोग गर्न माग गरेका छन् । मौरीपालनको राम्रो संभावना रहेकाले यसमा प्रर्याप्त सहयोग गर्न माग गरेका छन् । नगरपालिकाले कृषकहरुका लागि आयोजना गरेको ३ दिने मौरीपालन तालिममा सहभागी भएका कृषकहरुले नगरपालिकाले मौरीपालनमा सहयोग गर्नुपर्ने बताएका हुन् । कृषक हेमप्रसाद अधिकारीले सहयोग नपाएको बताए । ‘ घरदैलोमा आएको नगरपालिकाले सहयोग गरोस भन्ने अपेक्षा लिएको छु ।’ उनले नगरपालिकाले तालिम सहित वजारीकरणमा सहयोग गरोस भन्ने अपेक्षा लिएको बताए ।
फलेवासमा महको उत्पादन बृद्धि गर्न नगरपालिकाले नगर क्षेत्र भित्रका मौरीपालक किसानहरु लाई आईतबार बाट तालिम दिन थालेको हो । तालिममा सहभागीहरुले अहिलेसम्म कुनै निकायले यसमा सहयोग नगरेको तर अब नगरपालिकाले प्रेरित गर्ने योजना बनाउनुपर्ने बताए । फलेवास ३ का महेन्द्रबहादुर कार्कीले कृषिमा नगरपालिकाको बजेट कम रहेकोमा दुखेसो गरे । उनले कृषिमा बजेट बढाउन, मौरीपालन, पशुपालन, तरकारी खेती जस्ता कार्यक्रम स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने बताए । ‘आर्थिक समृद्धिका लागि कृषिलाई प्रमुखताका साथ बजेटको व्यवस्था हुनुपर्छ,’ उनले भने,‘ कृषिको बिकासमा स्थानीय सरकारले ध्यान दिन सकेन ।’
नगरपालिकाका कृषि शाखा प्रमुख नारायण पौडेलले संभावनायुक्त कृषि क्षेत्रमा नगरपालिकाले ध्यान दिएको दावी गरे । उनले पहिलोबर्ष भएकाले बजेट बिनियोजनमा केहि गल्ती भएको उनले स्विकारे । बजेट कम भएपनि कृषिमा प्राप्त बजेटको सहि सदुपयोग गरिने उनले बताए ।
तालिममा नेपाल र यहाँका भौगोलिक वातावरणमा रहेको मौरीको अवस्था, मौरीपालनका बेला आउने समस्याहरूको समाधानका उपाय, कृषकको इच्छा अनुसार मौरीलाई नियन्त्रण गरी धेरैभन्दा धेरै मह उत्पादन गर्ने तरिका, रोगकिराको व्यवस्थापन, महको बजारीकरण जस्ता विषयवस्तुहरू तालिममा समेटिने पौडेलले जानकारी दिए ।
फलेवासमा कृषकहरूले आधुनिक घार,मुढामा, घरको भित्ता वा खोपामा मौरीपालन गर्दै आएका छन् । यसरी स्थानीय स्तरमा उपलव्ध साधन र स्रोतको प्रयोग गरी परम्परागत तरिकाबाट हुँदै आएको मौरीपालनलाई अझ कसरी व्यवस्थित तरिकाले गर्न सकिन्छ भन्ने कुरालाई समेत तालिममा समावेश गरिने कृषि शाखा प्रमुख पौडेलले बताए । तालिममा ३० जनाको सहभागीता रहेको छ । कृषि शाखा प्रमुख नारायण पौडेल,प्राविधिक सहायक ढाकाराम सुवेदी,नवनारायण शर्मा,कृष्ण तिवारीले तालिमको सहजीकरण गरेका थिए ।
