Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1992




रित्तिँदै पर्यटकिय गाउँ ‘चित्रे’
रित्तिँदै पर्यटकिय गाउँ ‘चित्रे’




रोशन तिवारी चैत्र ४ पर्वत । चित्रेका नरजंग गुरुङ पोखरा बसाईसराई गरेपछि उनको घर खण्डहर जस्तै बनेको छ । २०५२ सालमा उनको परिवार पोखरा सरेको हो । उनको घरमा कुनै बेला रातभरि सालैजो घन्किन्थ्यो । यसै गाउँका लक्षणबहादुर गुरुङको घरपनि अहिले चावी लगाएर छाडिएको छ । दुबै घर एकै आँगनमा जोडिएका छन् । उनीहरु जस्तै पर्यटकिय गाउँ चित्रेका बासिन्दाहरु धमाधम सुविधा खोज्दै बसाईसराई गर्ने क्रम बढेसंगे अहिले गाउँ रित्तिँदै गएको छ । गाउँमा सुबिधाको अभावमा बसाईसराई बढेको स्थानीय बताउँछन् । 

२०४० साल यता चित्रेका करिव साढे दुई सय गुरुङ परिवारले बसाई सरेका छन् । ‘कुनै समय यस्तो थियो गाउँका सबै भेला भएर समाजघरमा रोदी गाउँदा पुरै गाउँ गुञ्जायमान हुन्थ्यो । कसैलाई दुखबिमार पर्दा सयौं भेला भएर समाधान गथ्र्यौं । अहिले मलामी जाने मान्छे छैनन् ।’ मोदी ८ का बालिका पौडेलले भनिन् । अहिले गाउँ खाली भएको उनलाई न्यास्रो लाग्ने गरेको छ ।’

चित्रे पर्यटकिय क्षेत्र पञ्चासेको काखमा रहेको छ । होमस्टे (घरबास) र बालमैत्री गाउँ का कारण पछिल्लो समय चर्चामा रहेको यो पर्यटकिय गाउँमा ३० वर्षको अवधिमा करिव आधाजसो परिवारले गाउँ छोडेका छन् । गाउँमा बसाई सर्दै गएपनि रोक्ने प्रयास अहिलेसम्म भएको देखिँदैन् । २०४० सालमा दुई सय कुरिया परिवार रहेको गाउँमा अहिले ५५ कुरिया मात्रै रहेको सरकारी तथ्याङकमा उल्लेख छ । ‘सुविधा खोज्दै बसाईसराई गर्ने बढेको बढ्यै छन,’ वडा सचिव गोकुल शर्माले भने,‘ बसाईसराई रोक्न सकेका छैनौँ ।’ 

दलित र जनजातीको बाहुल्यता रहेको चित्रेबाट बसाई सर्नेमा गुरुङ समुदाय अग्रस्थानमा छ । भारतिय तथा ब्रिटिस सेनामा कार्यरत गुरुङ समुदायका युवाहरु नोकरीसंगै शिक्षा, स्वास्थ्य र अवसरको खोजीमा गाउँ छोड्ने अधिक छन् । ‘पोखरामा मात्रै यहाँबाट बसाई सरेका दुई सय बढी परिवार छन् । ति सबैले उतै घर बनाएका छन् ।’ ‘ स्थानीय पञ्चकोशी प्राविका प्रअ सुसिलादेवी गुरुङले भनिन् ‘ गाउँ छोड्नेहरुमा अधिकांस भारतिय र बृटिस सेनामा कार्यरत व्याक्तिका परिवार हु्न् । गाउँमा संभावनाका थुप्रै आधार भएपनि गाउँ छाड्ने क्रम रोकिएको छैन ।’

यहाँका अधिकाँश परिवार कृषि पेशाबाट जिविका चलाउँछन् । जनजाती समुदायका घरमा होमस्टे छ । पञ्चासेमा आउने पर्यटकहरु चित्रेका होमस्टेमा बास बस्छन् । कृषि पेशा संगै होमस्टे चलाएर जिविका चलाउने परिवार ४० को हाराहारी छ । आँखैमा माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी हिमाल देखिने चित्रे प्रकृतिको उपहार जस्तो सुन्दर छ । तर गाउँमा अहिलेसम्म उच्च शिक्षाका लागि क्याम्पस छैन् । सुविधासम्पन्न अस्पतालको पनि अभाव छ । शिक्षा, स्वास्थ्य, सडक, विद्युत, खानेपानी लगायतको खोजीमा गाउँ छोड्नेहरुको संख्या भने रोकिएको छैन । स्थानीयका अनुसार दशकअघिसम्म घरजग्गा बिक्रि गरेर बसाई सर्ने क्रम थियो । ‘हिजोआज जग्गा बिक्रि रोकिएको छ । बाहिर घरजग्गा हुनेहरुलाई रोक्न समस्या हुन्छ । नहुनेहरु बाध्यता सुनाउँछन्, वडा सचिव गोकुल शर्माले भने,‘ पछिल्लो समय गाउँमा खुलेका होमस्टेमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण चित्रेमा चहलपहल बढेको छ । तर, गाउँबाटै बसाई सरेकाहरु भने आउन मान्दैनन् ।’

‘रोजगारको खोजिमा युवा बिदेशिएपछि तिनका श्रीमती बालबच्चा पढाउने भन्दै गाउँ छोडेर बजार झरे । बिस्तारै उतै घडेरी किनेर घर बनाएपछि परिवारै गाउँ फर्केनन,’ शिक्षक मधुसोधन अधिकारी भन्छन्, ‘ बालबच्चा पढाउन बजार झर्नेहरु गाउँ फर्किन मान्दैनन् । अलि अलि कमाई बढेपछि बजार झर्नेहरु धेरै छन् । अहिले हामीले बसाईसराई रोक्ने अभियान चलाएका छौँ,’ उनले भने । 

बसाईसराई रोक्न अब स्थानीय सरकारको सक्रियता चाहिने अधिकारीले बताए । ’ प्रविधियुक्त र अन्तराष्ट्रिय बजारमा बिक्ने शिक्षा गाउँमै दिन हामीले यहाँको जनसिद्ध माविलाई प्रविधियुक्त कलेज बनाउनेगरि बृहत छलफल गरिरहेका छौं । पञ्चासेको नजिकै भएकोले वन र वन्यजन्तुमा आधारित कलेजका रुपमा विकास गर्नसके देशैभरका विद्यार्थीको अध्ययन केन्द्र हुनसक्छ ।’ शिक्षक अधिकारीले भने ।

स्थानीय तह कार्यान्वयनपछि अब गाउँका आवश्यकता पुरा गरेर नयाँ पुस्ता पलायन रोक्न सकिने वडाध्यक्ष सुकबहादुर गुरुङ बताउँछन् । ‘धेरैजसोले शिक्षा र पुर्वधारको खोजिमा गाउँ छोडेको पाइएको छ,’ गुरुङले भने, ‘अब हामीले प्रविधियुक्त र आधुनिक शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । त्यसपछि बाटोघाटो, स्वास्थय, विजुली सहज हुनुपर्छ ।’ गाउँसम्म कालोपत्रे बाटो र बिरामी हुँदा तत्काल अस्पताल पु¥याउन एम्बुलेन्स भए अबको पुस्ता पलायन रोकिने उनको दाबी छ । ‘त्यति गर्दा पनि नरोकिए गाउँपालिकाले यहाँबाट हुने सेवासुविधा रोक लगाउँछ । हामी त्यो तयारी गर्दैछौं ।’ वडाध्यक्षले भने । बसाईंसराई सबै गाउँको साझा समस्या भएकोले साझा रुपमै समाधान गर्नेबारे गाउँपालिकाले नयाँ योजना ल्याउन लागेको मोदीका अध्यक्ष प्रेम शर्मा पौडेल बताउँछन् ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)