Correspondent, ParbatNepal
8 years ago
1645
चैत १७ पर्वत । पर्वतको कुश्मा बजारको भिरवाट लडेर एक युवकको मृत्यु भएको छ । पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाई बर्षिया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भीरबाट लडेर वाग्लुङ नगरपालिका १ वस्ने वर्ष ३६ का भुपेन्द्र रुचालको मृत्यु भएको छ ।
बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानियबासीले देखेपछि भागेका रुचालको कुस्मा नगरपालिका वडा नं ४ चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो । कुश्मा नगरपालिका ४ चाक्लेडिल नजिकै बस्दै आएकी निशा परियारकी साढे २ बर्षिय छोरी सुवानी परियारलाई एक अपरिचित व्यक्तिले अपहरण गरेर लैजाँदै गर्दा स्थानीयबासीले देखेर हारगुहार गरेपछि उनी भाग्न खोज्दा भीरबाट खसेका थिए । उनको पोष्टमार्टम गर्न जिल्ला अस्पतालमा शब राखिएको छ ।
बच्चा रोएको सुनेपछि भीर तर्फ हेर्दा बालिकाको मुख अठ्याइरहेको देखेपछि भागेको प्रत्यक्षदर्शीले बताए । बालिका छाडेर भाग्ने क्रममा भीरबाट खसेका ती युवाको प्रहरीले खोजी गर्ने क्रममा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।
बेपत्ता भएका व्यक्तिलाई प्रहरी र स्थानीयबासीहरुको पहलमा खोजि कार्य गर्दा करिव १ घण्टा पछि चाक्लेडिल भीरको करिव २ सय मिटर तल उनी मृत अवस्थामा भेटिएका थिए । मृतकको सव पोष्टमार्टमका लागि प्रहरीले जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।
उक्त व्यक्तिले घटनाको करिव आधा घण्टा पहिला सोही घटना स्थल नजिकैको एक होटलबाट मदिरा समेत चोरी गरी भागेको अवस्थामा व्यवसायीले थाहा पाएपछि उनलाई नियन्त्रणमा लिएर छाडेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक दिपक थापाले बताए ।
