Correspondent, ParbatNepal
8 years ago
1761
चैत १९ पर्वत । पर्वतका भूकम्प पीडितलाई कृषि र पशुपालनका कार्यक्रममा अनुदानको व्यवस्था गरिएको छ । भूकम्पले घर भत्किएका किसानलाई कृषि र पशुपालनमा समेत अनुदान वितरण हुने भएको छ । कृषि तथा सहकारी र पशुपक्षी विकास मन्त्रालयबाट प्राप्त अनुदान जिल्ला कृषि विकास कार्यालय र पशुसेवा कार्यालयले किसान छनोट गरेर वितरण गर्न सुरु गरेका छन ।
भूकम्पपीडित किसान लक्षित कार्यक्रमअन्तर्गत कृषितर्फ प्लास्टिक टनेल, माहुरी घार, साना सिँचाइ, माछापोखरी, प्लास्टिक पोखरी र थोपा सिँचाइका कार्यक्रम वितरण गर्न लागिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । त्यस्तै पशु कार्यालयतर्फ गोठ सुधार, उन्नत बोका, उन्नत घाँस र पशु स्वास्थ्य शिविरको कार्यक्रम गर्न लागिएको वरिष्ठ पशु चिकित्सक सुधीर थापाले बताउनुभयो ।
कृषितर्फ परेका करिब साढे ५ सय निवेदनमध्ये १ सय ३० जनालाई प्लास्टिक टनेल, ४३ लाई माहुरी घार, १० लाई साना सिँचाइ, १४ माछापोखरी, ३१ प्लास्टिक पोखरी र ३५ किसानलाई थोपा सिँचाइको अनुदान वितरण गरिने कृषिले जनाएको छ । यी कार्यक्रमका लागि कृषिमा १९ लाख रुपैयाँको बजेट छ । त्यस्तै पशुतर्फको ७ लाख ११ हजार रुपैयाँ बजेटबाट गोठ सुधार, उन्नत बोका र उन्नत घाँसका योजनामा अनुदान दिइने भएको छ ।
मन्त्रालयले अख्तियारी दिएको कार्यक्रम स्थानीय तहले वितरण नगरेपछि जिल्ला कार्यालयमै फिर्ता आएको थियो । जिल्ला कृषि विकास समितिले छनोटमा परेका किसानको नाम अनुमोदन गरेको छ ।
