Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2011




गाउँपालिका भवन बनाउन ७० लाखको जग्गादान
गाउँपालिका भवन बनाउन ७० लाखको जग्गादान


चैत २१ पर्वत । गाउँपालिकाको कार्यालय बनाउन गाउँलेले ७० लाख बराबरको जग्गादान गरेका छन् । जिल्लाको मोदी गाउँपालिकाका बासिन्दाले गाउँपालिकाको भवन बनाउन जग्गादान गरेका हुन् । देउपुरको कँडेनबाट पातिचौरमा सरेको केन्द्रमा भवन बनाउन जग्गादान गरिएको हो । 

अहिले गाउँपालिकाको भवन भाडाको घरमा छ । भाडाको घरमा सञ्चालन हुँदै आएको कार्यालयलाई आफ्नै सुविधासम्पन्न भवन निर्माण गरि सञ्चालन गर्न वडा २ का बासिन्दाले रकम संकलन गरेर पातीचौरमै जग्गा खरिद गरेका हुन् । पातीचौर आसपासमा जग्गा सार्वजानिक जग्गा र अन्य कुनै कार्यालयको समेत भवन नभएकाले जग्गा खरिद नै गर्नु परेको हो । 

अहिले घडेरी सम्माउने काम भईरहेको गाउँपालिकाका प्रमुख प्रेमप्रसाद शर्माले जानकारी दिए । ‘भवन बनाउन जग्गा सम्माउन थालिएको छ,’ शर्माले भने,‘ जग्गा पाएपछि भवन निर्माण गर्ने योजना पुरा हुँदैछ ।’ जग्गा प्राप्तीमा कुनै समस्या नरहेपनि भवन निर्माण कार्य पुरा गर्न भने आर्थिक समस्या रहेको उनले बताए । उनका अनुसार चालु आर्थिक बर्षमै भवन निर्माणका लागि भुकम्प पुननिर्माण प्राधिकरणवाट १० करोड विनियोजन भइसकेको छ । जिल्ला समन्वय समिति मार्फत उक्त रकम प्राप्त भइसकेको र काम सूरु भएको छ  । मोदी गाउँपालिकाले आगामी बर्ष आन्तरिक स्रोत भवन निर्माण लगानी गर्ने जनाइएको छ । 

भवन डिजाइन, लागत, इस्टिमेट तथा टेन्डरसमेत माथिल्लो निकायवाट तयार भएर आउने प्रमुख प्रशासकिय अधिकृत कुमानसिँह गुरुङले जानकारी दिए ।जग्गा खरिदका लागि एकसय परिवारभन्दा बढीले ५ हजारदेखी १ लाख ७५ हजार रुपैयाँसम्म चन्दा सहयोग गरेका छन् । ‘गाउँबासीहरुले सकेको सहयोग गरिरहेका छन्,’गुरुङले भने,‘चन्दा उठाएरै भवन बनाउने अभियान चलेको छ ।’ पोखरा–बागलुङसडक खण्डमा पर्ने पातीचौर गाउँपालिकाको ८ वटै वडालाई पायक पर्ने स्थान हो । 

मोदी गाउँपालिका सहित पर्वतमा कुश्मा नगरपालिका, फलेबास नगरपालिका, बिहादी गाउँपालिका र पैयुँ गाउँपालिकाको कार्यालय भाडाको घरमा रहेका छन् । महाशिलाको वार्ड २ को साविकको गाविस भवनमा छ । जलजलाको कार्यालय साबिक माझफाँट गाबिसको भवनमा रहेको छ । कतिपय स्थानीय तहमा वडा कार्यालयहरु समेत भाडाका घरमा रहेका छन् । बिकास बजेट भाडा तिर्नमै ठिक्क भएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)