Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1636




एम्बुलेन्स थलिए, बिरामी मर्कामा
एम्बुलेन्स थलिए, बिरामी मर्कामा

साजन परियार, चैत २२ पर्वत । बिरामी बोक्ने एम्बुलेन्सहरु बिग्रिएर थन्किँदा आवश्यक पर्दा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको छ । पर्वतका बिभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाका एम्बुलेन्सहरु बिग्रिएर थन्किँदा जनजीवन प्रभावित भएको हो । जिल्ला स्वास्थ्य कार्यालय, मातहातका निकाय, रेडक्रस लगायतका संस्थाका एम्बुलेन्सहरु बिग्रिएर थन्किएका छन् ।

जिल्ला अस्पतालको एम्वुलेन्स बिगत नौ महिनादेखि बिग्रिएर थन्किएको छ । रकम अभावले अहिले सम्म एम्बुलेन्स ग्यारेजमा थन्किएको छ । उक्त एम्बुलेन्स बिग्रिएपछि जिल्ला अस्पतालमा आउने बिरामीहरु ट्याक्सी खोजेर गन्तव्य जान बाध्य रहेका छन् । ग्रामीण क्षेत्रका बिरामीहरु चाहिएको बेला सबारी नपाउँदा डोकोमा बोकिएर अस्पताल धाउन बाध्य छन् । जिल्ला अस्पतालमा रहेको एकमात्र एम्बलेन्स बिग्रिएपछि बिरामीहरुले सास्ती पाउनुपरेको अस्पताल बिकास समितिका अध्यक्ष राधाकुमारी कुँवरले बताउनुभयो । 

जिल्ला अस्पतालको मात्रै हैन मातहातका स्वास्थ्य संस्थाका एम्बुलेन्स समेत बिग्रिएर थन्किएका छन् । जिल्लाको महाशिला गाउँपालिका–५ स्थित लुङ्गखु प्राथमिक स्बास्थ केन्द्रमा रहेको एम्बुलेन्स विगत ४ महिनादेखी प्रयोग बिहिन अवस्थामा छ । नेपाल सरकारको सहयोगमा प्राप्त भएको एम्बुलेन्स पनि मर्मतका लागि पोखरामै राखिएको छ । दाताको सहयोगमा २ बर्ष अघि प्राप्त भएको एम्बुलेन्स मर्मत गर्ने रकमको अभाव रहेको स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष जीवनबिक्रम ठकुरीले बताउनुभयो । । ‘हामीसंग मर्मतको रकम अभाव छ,’ उहाँले भन्नुभयोे,‘ रकम नहुँदा एम्बुलेन्स मर्मत हुन सकेन् ।’ बिकट गाउँमा रहेका नागरिकहरु अहिले एम्बुलेन्स नहुँदा समस्या रहेको ठकुरीले बताउनुभयो ।  

फलेवास नगरपालिका ११ स्थित पाङराङ स्वास्थ्य चौकीमा तत्कालिन निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको पहलमा प्राप्त एम्बुलेन्स पनि बिग्रिएको डेढवर्ष बितिसक्यो । तर, अहिलेसम्म मर्मत हुन सकेको छैन् । रकम अभावकै कारण उक्त एम्बुलेन्स मर्मत गर्न नसकिएको वडाध्यक्ष जीतबहादुर सुनारले जानकारी दिनुभयो । कतिपय स्वास्थ्य संस्थामा रहेका एम्बुलेन्स मर्मतको अभावले सञ्चालन हुन सकेका छैनन् भने कतिपय सञ्चालनको खर्च जुटाउन नसक्दा सञ्चालन हुन सकेका छैनन् । 

जिल्लाको सदुरदक्षिण हुवास स्थित पैयुँ स्वास्थ्य चौकीको एम्बुलेन्स खर्च जुटाउन नसक्दा थन्किएको छ । ईन्धन खर्च जुटाउन समस्या रहेका कारण सञ्चालन गर्न नसकिएको  स्वास्थ्य चौकीका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । फलेवास नगरपालिका ५ खानीगाउँमा रहेको धुलीखेल स्वास्थ्य केन्द्रमा रहेको एम्बुलेन्स पनि बिग्रिएको छ । सञ्चालनमा ल्याएको लामो समयसम्म मर्मत हुन नसक्दा एम्बुलेन्समा आवातजावतमा समस्या भएको स्वास्थ्य केन्द्रले जनाएको छ । नेपाल रेडक्रस सोसाईटिमा रहेका दुई वटा एम्बुलेन्स मध्ये एउटा मात्रै सञ्चालनमा आएको छ अर्को बिग्रिएर बेकामे बनेको छ । जिल्लामा १० वटा एम्बुलेन्स मध्ये हाल ३ वटा मात्र सञ्चालनमा छन् । मल्लाज स्बास्थ चौकीको १ , ठुलीपोखरी स्वास्थ्य केन्द्रको १ , पुन युबा क्लबको १ एम्बुलेन्स मात्र सञ्चालन हुदै आएका छन् । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)