Correspondent, ParbatNepal
8 years ago
2004
पर्वत — पैयुँ ५ भुर्तेलथोककी तुलसा भुर्तेल ८२ वर्षकी भइन् । नौ वर्षको उमेरमै विवाह भएकी उनी १६ वर्षमै तीन सन्तानकी आमा भएकी थिइन् । ६ दशकभन्दा अघि घरनजिकै पानी, मिल र घाँसदाउराको स्रोत थिएन । परिवारमा सबै काम बुहारीले नै गर्नुपर्ने मान्यता थियो ।
शुक्रबार र शनिबार पैयुँ गाउँपालिका र रेडियो दिदीबहिनीले आयोजना गरेको स्वास्थ्य शिविरमा बुहारीले जिप चढाएर ल्याउँदा पनि उनको रगत बगिरहेको थियो । ‘बेलाबेला यस्तै हो,’ बुहारी गुमकुमारीले भनिन्, ‘जतिसुकै समस्या भए पनि अस्पताल जानै मान्नुहुन्न ।’ शिविरमा महिलाको समस्या हेर्न स्त्रीरोग विशेषज्ञ डा. ऋचा श्रेष्ठ थिइन् । तुलसाले बुहारीको सहयोगमा पहिलोपटक चिकित्सकसामु आफ्नो समस्या सुनाइन् । भनौं भने लाजैमर्दो समस्या । नभनौं महिनैपिच्छे मरेर बाँच्नुपथ्र्यो, उतिबेला सुत्केरी भनेर कहाँ बस्न पाइन्थ्यो र ? सुत्केरी भएको सात दिनदेखि गह्रुँगो भारी र दैनिक १८ घण्टासम्म काम गर्न बाध्य उनलाई पुरानो समस्या समाधान गर्ने डाक्टर र अस्पतालै भेट्न मुस्किल भयो ।
शिविरमा समस्या लिएर आउनेमा तुलसा जस्ता थुप्रै थिए । शिविरमा आएका ८० स्त्रीरोगीमध्ये ७० प्रतिशत भन्दा बढीले रोग लुकाएरै राखेको डा. श्रेष्ठले बताइन् । रोग लुकाउनेमा ५० वर्ष कटेका महिला थिए । स्वास्थ्य परीक्षण गराउन आएकामध्ये धेरैजसो महिलाले महिलामैत्री स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको अभावले समस्या सुनाउन नसकेको गुनासो गरे । ‘भित्री समस्या सुनाउन समस्या भोगेकै डाक्टर भए सजिलो हुन्थ्यो,’ डिला काफ्लेले भनिन्, ‘जहाँ गयो पुरुष मात्रै डाक्टर हुन्छन् । उनीहरूलाई सुनाउनभन्दा दबाउनै बेस ।’ लाजकै कारण पुरुष डाक्टरलाई समस्या भन्न नसकेको महिलाहरूले बताए । पाठेघरको समस्या लुकाउन केहीले कपडाको टालो त केहीले ढुंगाको सहारासमेत लिने गरेको यथार्थ सुनाए ।
गाउँमा पहिलोपटक महिलाका समस्या बुझ्न महिला डाक्टर नै आएको मौका छोपेर धेरैले आफ्ना समस्या निर्धक्क सुनाए । ‘मलाई पहिल्यैदेखि स्तन र छातीमा समस्या थियो,’ रेमा थापाले भनिन्, ‘श्रीमान् धेरैजसो घरमा नबस्ने । घरका अरूलाई भनेर अस्पतालसम्म जाने मौकै मिलेको थिएन ।’ स्थानीय स्वास्थ्य संस्थामा महिला कर्मचारी भएर पनि समस्या पहिचान गर्ने महिला जनशक्ति नभएरै दुखाइ कम गर्ने औषधि खाएर पीडा थमाएको उनले बताइन् ।
