Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1643




जेष्ठ नागरिकलाई दिवा सेवा
जेष्ठ नागरिकलाई दिवा सेवा

पर्वत — स्थानीय तह कार्यान्वयनपछि जनमुखी कार्यक्रम ल्याउन पर्वतका स्थानीय तहका जनप्रतिनिधिबीच होडबाजी नै चलेको छ ।लोकप्रिय कार्यक्रम ल्याउनेमा कुश्मा ५ की अध्यक्ष चित्रकला  भारती पनि छन् । उनले जेष्ठ नागरिक दिवा सेवा सञ्चालन गर्न लागेकी छन् ।आजको कान्तिपुर दैनिकमा खवर छ ।

वडा कार्यालयले आयोजना गरेको बृहत् भेलामा उनले ६० वर्ष कटेका वृद्धवृद्धालाई घरमै बसेर समय कटाउन मुस्किल परेको बुझेपछि यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको बताइन् । ‘बिहान उठेर आश्रयस्थल आएका वृद्धवृद्धा साँझ सुत्न घर गए हुन्छ,’ उनले भनिन्, ‘दिउँसोको चिया, खाजालगायतको सबै व्यवस्था हामीले गर्छौं ।’ सबै सेवा नयाँ वर्षदेखि सुरु हुने नगरपालिकाले जनाएको छ ।

जेष्ठ नागरिक सेवा सञ्चालन गर्न वडा कार्यालयले शनिबार बृहत् भेलाको आयोजना गरेको थियो । भेलाले सेवा सञ्चालन गर्न लेखनाथ शर्माको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । समितिले साता दिनभित्रै आर्थिक व्यवस्थापन गरी गोपाङघाट गुम्बामा दिवा सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । समितिले चालु वर्षको तीन महिना दिवा सेवा सञ्चालन गर्नका लागि एक लाख रुपैयाँ रकम आवश्यक पर्ने जनाएको छ ।

‘जेष्ठ नागरिकलाई मनोरञ्जन र बसोबासको व्यवस्थापन गर्छौं,’ संयोजक शर्माले भने, ‘नयाँ आर्थिक वर्षदेखि थप रकम मागेर व्यवस्थापन गर्छौं ।’ कुश्मा नगरपालिकासँग समन्वय गरी वृद्धाश्रम नै बनाउन सर्वपक्षीय भेलामा उपस्थितले सहमति जनाए । ‘हामीले आवश्यक पर्नेजति रकम जुटाउन सक्छौं,’ कुश्माका शैक्षिक अगुवा वसन्त सिकेले भने, ‘स्थानीय सरकारको सहयोग चाहिन्छ ।’

उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले स्थानीय सरकारले ल्याएको जनमुखी कार्यक्रममा निजी क्षेत्रको भरपुर सहयोग हुने बताए । ‘यो कार्यक्रम राम्रो हो,’ उनले भने, ‘वडा नम्बर ५ लाई मात्रै नभई सबै जेष्ठ नागरिकलाई समेट्नुपर्छ ।’ भेलामा सहभागी स्थानीय आमा समूह, युवा क्लब, सामाजिक संघसंस्थालगायतले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । वृद्धाश्रम बन्ने निश्चित भए घरलौरी कम्तीमा १० हजार रुपैयाँका दरले सहयोग जुटाउन सरोकारवाला सहमत भएका छन् । गोपाङघाट गुम्बा व्यवस्थापन समितिका अध्यक्ष डमबहादुर गुरुङले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जनाए ।

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)