Correspondent, ParbatNepal
8 years ago
2379
बैशाख ७, पर्वत । किसानले उत्पादन गरेका सबै कृषिजन्य बस्तु बिक्री गर्ने जिम्मा नगरपालिकाले लिने भएको छ । फलेबास नगरपालिकाले किसानलाई उत्साही बनाउदै कृषिमा ब्यावसायिक बनाउने उद्देश्यले बिक्री नभएको सबै कृषिजन्य बस्तुको जिम्मा लिने घोषणा गरेको हो ।
नगरपालिकाले नगरलाई अन्नबाली, तरकारी, दुध, अण्डा र मासुमा आत्मनिर्भर गराउने योजनाका साथ किसानलाई राहत र प्रोत्साहन मिल्ने कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ । चालु आर्थिक बर्षमा फलेबास नगरपालिकाले झण्डै साढे दुई करोड रुपैयाँ किसानलक्षित कार्यक्रम सञ्चालन गरेको छ । कृषि उत्पादनका लागि उत्कृष्ट मानिएको फलेबास नगरपालिकामा विभिन्न अन्नबालीका साथै तरकारी खेती, फलफुलखेती, दुध उत्पादन, बाख्रा, कुखुरा, बंगुरपालनका विशेष मानिन्छ । तरपनि फलेबास नगरपालिकामा अहिले खाद्यान्न, तरकारी, मासुबाहिरबाट नियमित रुपमा भित्रिने गरेको छ ।
फलेबास नगरपालिकाबाट दुध भने सदरमुकाम कुश्माबजार र स्याङ्जाको विभिन्न ठाउँमा निर्यात हुने गरेको छ । नगरपालिकाले कृषिजन्य सबै बस्तुमा नगरपालिकालाई आत्मनिर्भर बनाउदै नजिकका बजारमा निर्यात समेत गरेर कृषिबाटै समृद्धिको लक्ष्य लिएको छ । खाद्यान्न नियमित रुपमा आयात भएपनि तरकारी र मासु भने बेसिजनमा मात्रै फलेबास नगरपालिकाका विभिन्न स्थानीय बजारमा भित्रिने गरेको छ ।
फलेबास नगरपालिकाको शंकरपोखरी, देबिस्थान, कुर्घा, पाङराङ, कार्कीनेटा तरकारी उत्पादनका पकेट क्षेत्रभित्र पर्छन । शंकरपोखरी, कुर्घा, लिमिठाना, कार्कीनेटा दुध उत्पादन गरी बाहिर पठाउने वडा हुन ।
नगरपालिका प्रमुख शर्माले अहिले नगरपालिकाले एकीकृत गुरुयोजना निर्माण सुरु गरेको र त्यसअन्र्तगत कुन ठाउँमा कुन बस्तु बढी उत्पादनका लागि राम्रो हुन्छ माटोसमेत परिक्षण गरेर नगरपालिकाले लगानी गर्ने तयारी गरेको बताए ।
