Correspondent, ParbatNepal
8 years ago
1848
बैशाख ७, पर्वत । पर्वतको कुश्मामा बस दुर्घटना भएको छ । काठमाडौंवाट तिर्थयात्री बोकेर मुस्ताङका लागि छुटेको बा ४ ख ५७८८ नम्बरको बस बिहान साडे ४ बजे दुर्घटना भएको हो । पर्वतको कुश्मा नगरपालिका ८ चुवामा शुक्रबार बिहान बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका १० का ६५ वर्षीय लिलानाथ पुडासैनी, ६० वर्षीय माया पुडासैनी, काठमाडौं महानगरपालिका १६ की ३८ उर्मिला उप्रेती, ४३ वर्षीय अनन्त उप्रेती, ३६ वर्षीय बिन्दा लोहनी, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ६ का २४ वर्षीय सुदर्शन कार्की र मुस्ताङको छुसाङ गाउँपालिका ४ की १५ वर्षीय स्नेहा गुरुङ छन।
घाइतेहरु सबै जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भैरहेको छ भने धेरैजसोका गर्धन र हातखुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका ट्राफिक प्रहरी जवान सुदिप सापकोटाले दिएको जानकारी अनुसार गाडीमा २६ जना यात्री सवार थिए भने चालकलाई निद्रा लागेका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
गाडीका चालकलाई प्रहरी नियन्त्रणमा लिएर घट्नाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।
