Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1619




महिला हिंसा र अवैध गर्भपतन रोक्न माग
महिला हिंसा र अवैध गर्भपतन रोक्न माग

पोखरा - प्रदेशसभाका सांसदहरूले पछिल्लो समय लिंग पहिचान गरी भ्रूण हत्या गर्नेलगायत महिलामाथि हिंसा बढिरहेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् । प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै उनीहरूले विकास निर्माणलगायत अन्य सरोकारका विषयमा प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराए ।

विशेष समयमा बोल्दै कास्कीका सांसद मीना गुरुङले छोरी जन्मिएकोमा महिलाले हिंसाको सिकार हुनुपरेको बताइन् । छोरी भन्ने थाहा पाएमा भ्रूण हत्याको चलन बढ्दै गएको भन्दै उनले कोखदेखि काखसम्म महिलाहरू हिंसाको सिकार हुनुपरेको प्रति दुस्ख व्यक्त गरिन् ।

खुलारूपमा दबाब, प्रभाव र अभावमा पारेर महिलालाई असुरक्षित गर्भपतन र अन्य हिंसा गरेर शारीरिक र मानसिक अस्वस्थताको अवस्था निम्ताइएको उनको भनाइ थियो । ‘हिंसाका कारण आत्महत्यासम्मको बाटो रोज्न महिलालाई बाध्य पारिएको छ,’ उनले भनिन्, ‘छोराका लागि कुकर्ममा महिलालाई प्रयोग गरिएको छ । गर्भपतन सेवा सहज भएकाले छोरी भए भ्रूण हत्या गर्नेजस्ता जघन्य अपराध भएकाले यसलाई रोक्न माग गर्छु ।’ वैध गर्भपतनलाई परिवार नियोजनको रूपमा प्रयोग गर्न नहुने भन्दै उनले सामाजिक र पारिवारिक समस्याबारे बुझाउन आवश्यक रहेको बताइन् ।

गोरखाका हरिशरण आचार्यले पछिल्ला समय देशभर महिला हिंसा बढेकाले सरकारले यसको अन्त्यका लागि विशेष कानुन बनाउनुपर्ने बताए । उनले प्रदेश सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने कुरा गरिरहँदा जीर्ण पोखरा सभागृहको सामान्य मर्मतमा पनि ध्यान नदिएको बताए । सभागृहलाई सुविधासम्पन्न बनाउनु पर्ने भन्दै गोरखामा कमसल ट्रान्सफर्मरका कारण नियमित बिजुली नआउने समस्याको अन्त्यको माग गरे ।

कास्कीकी प्रभा कोइरालाले २०४७ असोज १७ मा कास्की प्रशासनमा भएको आगो नियन्त्रण गर्न पुगेकालाई प्रहरीले गोली हान्दा झपीन्द्र कार्की र ऋषिराम परियारको मृत्यु भएको र मृतकद्वयलाई सहिद घोषणाको माग गर्दा हालसम्म सुनुवाइ नभएकाले प्रदेश सरकारले यसतर्फ केही गरोस् भन्ने माग राखिन् । कास्कीकै विन्दुकुमार थापाले पोखरामा ट्राफिक जामको समस्या विकराल बन्दै गएको र तुरुन्तै समाधानको उपाय नखोजे अझै ठूलो समस्या हुने बताए । यसले एकातिर समयमा गन्तव्यमा नपुग्ने र अर्कोतर्फ पेट्रोलियम पदार्थको खपत पनि बढ्ने भएकाले सरोकारवालाबीच समन्वय गरी समाधान गर्नुपर्नेमा उनले जोड दिए । स्याङ्जाका भगवतप्रकाश मल्लले प्रदेश ४ र ५ जोड्ने सिद्धार्थ राजमार्ग विकासको मेरुदण्ड भए पनि हाल सडक र राम्दी पुल जीर्ण भएकाले यसको स्तरोन्नतिमा जोड दिए ।

गोरखाकी मनकुमारी गुरुङले ल्होसारलगायत विभिन्न बिदा कटौतिको विरोध गर्दै गोरखाका विकट क्षेत्रमा यातायातको पहुँच नहुँदा ढुवानी अभावले खाद्यान्न र निर्माण सामग्रीको चर्को मूल्य तिर्नुपर्ने बाध्यताको अन्त्यका लागि भच्चेक–लौसीबोट–ओलाङलगायत सडक निर्माणको माग गरिन् । मुस्ताङका महेन्द्रबहादुर थकालीले मुस्ताङ जिल्ला अस्पतालको स्तरोन्नति गरी बेड क्षमता, विशेषज्ञ चिकित्सकसहित सेवासुविधा बढाउन माग गरे । नवलपरासीकी ओमकला गौतमले विनयत्रिवेणी गाउँपालिकामा प्रहरी चौकी स्थापना, नारायणी नदी किनारमा सडक, बोटिङ सञ्चालनको माग गरिन् । देवचुलीलाई विशेष पर्यटकीयस्थल घोषणाको माग गरिन् ।स्रोत कान्तिपुर दैनिकवाट 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)