Correspondent, ParbatNepal
8 years ago
1935
वैशाख ८, पर्वत ।पर्वत, म्याग्दी र बागलुङ जिल्ला समेटेर ‘सुन्तला सुपरजोन’ बनाउने तयारी भएको छ । तीन जिल्लाका ७ स्थानीय तह समेटेर ‘सुन्तला सुपरजोन’ बनाउन थालिएको हो । पर्वतको जलजला गाउँपालिका, म्याग्दीको बेनी नगरपालिका, मंगला, रघुगंगा, मालिका गाउँपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेटेर करिव १२ सय क्षेत्रफलमा सुपर जोन बनाउन थालिएको हो ।
प्रधानमन्त्री आधुनिकिकरण कृषि परियोजनाले सुन्तला पकेट क्षेत्र र व्लक क्षेत्र बनाएका तीन जिल्लाका यि ७ स्थानीय तहलाई समेटेर ‘सुन्तला सुपरजोन’ बनाउन पहल भएको जिल्ला कृषि बिकास कार्यालयले जानकारी दिएको छ । सुपर जोन बनाउन न्यूनतम एक हजार हेक्टर क्षेत्रफल आवश्यक पर्छ । जोन बनाउन एकै करिडोर र चक्लाबन्दी भएको भूभाग आवश्यक पर्छ ।
पहाडी भूभागमा एकै जिल्लामा त्यो संभव देखिँदैन त्यसैले तीन जिल्लालाई समेट्दा संभव देखिएकाले यो परिकल्पना गरेको रेग्मीले बताए । पर्वत, बागलुङ र म्याग्दीका प्रजिअ, जिसस प्रमुख,कृषि बिकास अधिकृत, वडाध्यक्षहरु र सरोकारवालाहरुले सुपर जोन बनाउन कृषि, भूमी व्यवस्था तथा सहकारी बिकास मन्त्रालयमा माग सिफारिस गरेका छन् । तीन जिल्लाको सात स्थानीय तहमा करिव एकहजार दुई सय हेक्टर भूभागमा अहिले सुन्तला खेती हुँदै आएको छ ।
सबै क्षेत्रलाई एकैठाउँमा मिलाएर खेती बिस्तार गर्दा अनुदान बढि आउने र कृषकहरुलाई पनि फाईदा हुने भएकाले सुपर जोनको रुपमा सुन्तला खेती प्रवर्दन गर्न खोजिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेले जानकारी दिए । पर्वतको जलजलाबाटै बार्षिक ४ करोडको सुन्तला बिक्रि हुने गरेको छ । म्याग्दीको बेनी, मालिका, रघुगंगा, मंगलाबाट बार्षिक १२ करोड र बागलुङ र काठेखोलाबाट ८ करोडको सुन्तला बिक्रि हुने गरेको छ ।
तीन जिल्लामा २० करोडको सुन्तला उत्पादन हुने गरेकोमा जोन बनाएर खेती बिस्तार गर्न सके तेब्बर उत्पादन हुने प्रक्षेपण गरिएको छ । प्रदेश नम्बर ४ को समृद्धिमा पर्वत, बागलुङ र म्याग्दीले सुन्तलाबाटै सबै भन्दा बढि योगदान दिन सक्ने सरोकारवालाहरु बताउँछन् । सुन्तलाको व्यवसायिक खेतीमा लागेका यसक्षेत्रका कृषकहरु सुपर जोन बनाउने प्रयास भएकोमा हौसिएका छन् ।
जलजला १ वाँसखर्कका कृषक शिव खत्रीले सरकारले अनुदान, वजारीकरणको व्यवस्था संगै कोल्ड स्टोरको व्यवस्था गर्ने हो भने सुन्तलाले प्रदेश पाल्न सक्ने हैषियत राख्ने बताउँछन् । पर्वत, बागलुङ र म्याग्दीमा प्रधानमन्त्री आधुनिकिकरण परियोजना अन्तर्गत अहिले सुन्तलाको पकेट क्षेत्रमात्रै सञ्चालनमा रहेका छन् ।
