Correspondent, ParbatNepal
8 years ago
1723
९ वैशाख, पर्वत । कुश्मा नगरपालिका वडा न २ खुर्कोटमो शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ बर्ष २०७५ को अवसरमा नेकपा एमाले वडा कमिटि खुर्कोटले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सांसद पदम गिरीले विकास निर्माणका कामहरुमा आफूले कहिल्यै विभेद नगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । अल्पकालीन भन्दा आफू दिर्घकालीन योजनाहरु निर्माण कार्यमा जुटेको भन्दै सांसद गिरीले अल्पकालिन योजनाहरु स्थानीय तहबाटै सम्बोधन हुने जानकारी दिए । जिल्लाको विकासमा राष्ट्रिय महत्वका योजनाहरु कार्यान्वयन गर्न सके मात्रै जिल्लाबासीले विकासको अनूभुति गर्ने भन्दै उनले सवैको साथ र सहयोगमा मात्रै त्यस्ता कार्य पुरा हुने विश्वास ब्यक्त गरे ।
‘निर्वाचन अघि म कुनै पार्टीको नेता थिए’ उनले भने–‘अहिले म सवैको साझा ब्यक्ति हुँ ।’ गिरीले भने–‘आम पर्वतबासीको दुःख र सुखमा साथ दिने मेरो अभिभारा हो ।’ पर्वतबासीले आफ्ना सवै गतिविधिको अनुगमन गर्नुपर्ने भन्दै गिरीले आफ्ना सवै गतिविधि जनता केन्द्रित हुने दावी गरे ।
कार्यक्रममा नेकपा एमाले पर्वतका पार्टी उप सचिव गोविन्द पहाडीले नयाँ बर्षमा नयाँ विचार र आर्थिक सम्बृद्धिका कुराले मात्रै देश विकास हुने बताए । उनले राष्ट्र विकासका लागि सवै आफ्नो ठाउँबाट उठेर सम्बृद्धिको संकल्पमा लाग्नुपर्ने धारणा ब्यक्त गरेका थिए ।
नेकपा एमालेका संघिय मामिला सदस्य मेघनाथ सुवेदीले जनताले नयाँ नेतृत्व खोजीरहेकाले ७४ सालमा देशले नयाँ पुस्ताको नेतृत्व पाएको विषयमा चर्चा गरेका थिए । उनले मानिसको विचार, सोच र चेतनाको स्तर परिर्वतनशिल रहेकाले सोहि अनुसारको नेतृत्व प्रति विस्वस्त रहन अनुरोध गरे ।
कार्यक्रममा वडा न २ का वडा अध्यक्ष यदुनाथ शर्माले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने एमाले सचिवालय सदस्य शेषराज रेग्मीले स्वागत मन्तब्य राखेका थिए । एमाले वडा कमिटिका अध्यक्ष मिनबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गणेश पौडेलले गरेका थिए ।
