Correspondent, ParbatNepal
8 years ago
1716
अपायक रहँदै आएको बिहादी गाउँपालिकाको केन्द्र पायक ठाउँमा सार्न जनप्रतिनिधीहरुले दवाव दिएका छन् । गाउँपालिकाको मध्यभागमा पर्ने वार्ड नम्बर ३ को माझगाउँमा केन्द्र सार्न ३ वटा वडाका जनप्रतिनिधीहरुले अभियान नै चलाएका छन् ।
चुनावको बेला केन्द्रको बिषयलाई चुनावी एजेण्डा बनाएका वार्ड १ वाच्छा, २ वर्राचौर, ३ रानीपानीका जनप्रतिनिधीहरुले अहिले वहाकीठाँटीमा रहेको केन्द्र माझगाउँमा सार्न दबाबमुलक कार्यक्रममा जुटेका हुन् ।
तीनवटा वडाका प्रतिनिधीहरुको भेला गरि गाउँपालिकाको वडा नं.३ माझगाउँमा केन्द्र सार्नुपर्ने निर्णय सहित गाउँपालिका कार्यालयमा डेलिगेसन जाने निर्णय गरिएको हो । वडा नं २ बर्राचौरका अध्यक्ष ओमप्रसाद कुँवरको अध्यक्षतामा बसेको भेलाले गाउँपालिकाको हालको केन्द्र वहाकीठाँटी वडाको कार्यालय उपयुक्त नभएको, सेवासुविधा लिनमा कठिनाई भएको, दुरीले धेरै टाढा भएको ठहर गर्दै सबैलाई पायक पर्ने तथा सेवासुविधा लिनमा सहज हुने ठाउँमा गाउँपालिकाको केन्द्र सानुपर्ने निर्णय गरेका हुन् ।
सोही बैठकले गाउँपालिकाको स्थायी तथा उपयुक्त केन्द्र माझगाउँका सबै जग्गाधनीहरुको मञ्जुरी समेत लिईसकेको छ ।बैठकका अध्यक्ष ओमप्रसाद कुँवरले विहादी गाउँपालिकाका सबै वडालाई पायक पर्ने केन्द्र माझगाउँ नै भएको बताउँदै जग्गाधनीहरुको समेत सहमति लिई सकिएको जानकारी दिनुभयो ।
कुँवरका अनुसार माझगाउँमा केन्द्र राख्दा गाउँपालिकाका सबै पूर्वाधार स्थापना गर्नको लागि आवश्यक जग्गा, सडकको पहुँच तथा खानेपानी लगायतका आवश्यक पूर्वाधार रहेका छन् ।कुँवरका अनुसार गाउँपालिकाको स्थायी केन्द्रको लागि राधिका पराजुली, घनबहादुर क्षेत्री, जीवलाल पराजुली, गणेश पराजुली, गोविन्दराज पराजुली र कुलबहादुर घर्तिले स्वेच्छाले जग्गा दिने घोषणा गर्नुभएको छ ।
केन्द्र स्थापनाको लागि जग्गा अपुग भएको खण्डमा विहादी गाउँपालिका वडा नं.२ का अध्यक्ष ओमप्रसाद कुँवरले जग्गा प्राप्तिको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै बैठकले कुँवरकै संयोजकत्वमा वडा नं. १, २ र ३ का जनप्रतिनिधीसहित सर्बै स्थानीयहरु सदस्य रहने गरि डेलिगेसन समिति गठन गरेको छ । समितिले गाउँपालिका अध्यक्षलाई बैठकको निर्णय बुझाउने तथा गाउँपालिकाको केन्द्र सार्नको लागि यथाशक्य पहल गर्न माग गर्नेछ ।
