Correspondent, ParbatNepal
8 years ago
1566
रोशन तिवारी, बैशाख ११ पर्वत । प्रदेश नम्बर ४ को नाम राख्ने बिषयमा पर्वतका सरोकारवालाहरुको मत बाझिएको छ । प्रदेश ४ को नाम जुराउन जिल्लामा आएको टोली समक्ष थरिथरिका नाम प्रस्ताव गरिएको छ । पर्वतवासीहरुले प्रदेशको नाम धौलागिरी,माछापुच्छ्रे, मुक्तिनाथ, कालिगण्डकी, हिमालय, कृष्णगण्डकी, मुक्तिक्षेत्र, पर्वत वा गण्डक राख्न सुझाव दिएका छन् ।
कुनै एउटा नाममा मात्रै वहुसंख्यकको सुझाव नआएको सुझाव संकलन टोलीका साँसद सावित्रा रानाले जानकारी दिनुभयो । एकजनाले भने तमुवान राख्न प्रस्ताव गर्नुभयो । जातिगत भन्दा भुगोलको आधारमा नाम जुराउन अधिकाँशले प्रस्ताव गरेको साँसद रानाले जानकारी दिनुभयो । प्रदेश राजधानी भने पोखरा नै राख्दा उपयुक्त हुने बहुसंख्यकको प्रस्ताव रहेको छ । प्रमुख जिल्ला अधिकारी, जिसस प्रमुख,बिभिन्न राजनितिक दलका प्रमुखहरु अन्य बिषयगत कार्यालयका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुखहरु कार्यक्रममा सहभागी भएर लिखित र मौखिक रुपमा सुझाव दिएका थिए ।
प्रदेश सरकारको तर्फबाट सुझाव संकलनका लागि साँसदहरु सावित्रा राना र चन्द्रबहादुर बुढा मगर पर्वतमा सुझाव संकलनका लागि आउनुभएको थियो । कार्यक्रममा प्रतिनिधी सभाका साँसद लालकाजी गुरुङ, प्रदेश साँसद जुनादेवी नेपाली, प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, जिसस प्रमुख मनोहर वि पौडेल लगायतले पनि आफ्नो राय प्रस्तुत गर्नुभयो । जिल्ला जिल्लामा सुझाव संकलन गरेर जस्ताको तेस्तै साँसदहरुले प्रतिवेदन वुझाउने र प्रदेशसभाले नै निर्णय गर्ने जनाइएको छ । प्रदेशका ११ वटै जिल्लामा राजधानीको नाम र ठाउँको बारेमा सुझाव संकलन गर्न टोलीहरु परिचालन भएका छन् ।
