Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2860




प्रदेश ४ का सबै स्थानीय तहमा उद्योगग्राम स्थापना गर्ने -मन्त्री लम्साल
प्रदेश ४ का सबै स्थानीय तहमा उद्योगग्राम स्थापना गर्ने -मन्त्री लम्साल

वैशाख १२ पोखरा । प्रदेश ४ का सबै स्थानीय तहमा उद्योगग्राम स्थापना गर्न सरकारले अग्रसरता लिएको छ । सरकारले चालु आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा पनि औद्योगिक प्रवद्र्धनको लागि प्रदेशमा ठुला औद्योगिक क्षेत्र र प्रत्येक स्थानीय तहमा एक उद्योग ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने नीति लिएको छ ।

सोही नीति अनुरुप चालु आर्थिक वर्षमा स्थानीय तहमा उद्योग सम्भाव्यताको अध्ययन गरिने र अर्को आर्थिक वर्षदेखि नै सम्भाव्य तहमा काम सुरु हुनेछ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले भने, ‘हामीले सबै स्थानीय तहलाई पत्राचार गरिसकेका छौँ, यसबाट स्थानीय तहहरु पनि उत्साहित भएका छन् ।’ १ महानगरपालिका, २६ नगरपालिका र ५७ गाउँपालिका रहेका प्रदेश ४ का स्थानीय तहमा उद्योग ग्राम स्थापनाको लागि एक हजार रोपनी जग्गा व्यवस्थापन गर्न मन्त्रालयले पत्राचार गरेको हो ।

स्थानीय तहलाई सकेसम्म सार्वजनिक जग्गा नभए मुआब्जा दिनेगरि स्थानीयकै जग्गा व्यवस्थापन गर्न भनिएको छ । उद्योगमन्त्री लम्सालले भने, ‘स्थानीय तहले जग्गा व्यवस्थापन गरेपछि स्थलगत अध्ययन गरेर उद्योगग्रामको सम्भाव्यता अध्ययन गरिनेछ । यसको लागि बजेटपछि समिति गठन गरिनेछ ।’ जग्गा उपलब्ध भएका क्षेत्रमा प्रदेश सरकारले नै औद्योगिक पूर्वाधार खडा गर्ने, संरचना निर्माण गर्ने उनले जानकारी दिए ।

हरेक स्थानीय तहमा स्थापना गरिने उद्योगग्राममा भने विविधता रहनेछ । ‘त्यहाँ सञ्चालनमा रहेका लघुउद्योगहरु पनि औद्योगिक क्षेत्रभित्रै सञ्चालन गर्नुपर्ने हुन्छ, स्थानीयरुपमा उपलब्ध स्रोतसाधनको परिचालन गरेर नै उद्योग सञ्चालन हुन्छ,’ लम्सालले भने, ‘यसको लागि आवश्यक लगानी भित्र्याउन प्रदेश सरकारले सहयोग गर्नेछ ।’ सरकारले छुट्टै कानुन बनाएर लगानीमैत्री वातावरण बनाउने, लगानीकर्तालाई आकर्षित गर्ने, सञ्चालित व्यवसायको संरक्षण सम्वद्र्धन गर्ने तथा व्यवसायीलाई प्रोत्साहन दिने नीति ल्याउने तयारीमा रहेको उनले जानकारी दिए ।

‘हामीले अत्याधुनिक प्रविधीमार्फत स्थानीय स्तरमा खाद्य, दुग्ध, काठ÷फर्निचर उद्योगहरु सञ्चालन गर्नेछौँ, स्थानीय तहमा पनि निश्चित औद्योगिक क्षेत्र तोकेर सबै उद्योगहरु एकै ठाउँमा सञ्चालन हुनेछन्’ उनले भने । यस्तै, सरकारले सबै स्थानीय तहमा उद्योगग्राम स्थापना सँगै प्रदेशस्तरीय उद्योग पनि सञ्चालन गर्ने नीति लिएको छ । प्रदेशमा नै १३ हजार रोपनी क्षेत्रफलमा बृहत उद्योग सञ्चालन गर्ने योजना रहेको मन्त्री लम्सालले बताए । सञ्चालनमा रहेको औद्योगिक क्षेत्रको अवलोकन गरिएको र बन्द भएका उद्योगको पुर्नस्थापना गर्न सरकारले पहल गर्ने उनले बताए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)