Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1969




शिलान्यासको ३ वर्षसम्म भएन कालोपत्रे
शिलान्यासको ३ वर्षसम्म भएन कालोपत्रे

पर्वत — पोखराबाट बेनी हुँदै मुक्तिनाथ जाने सडकको वैकल्पिक मार्गका लागि कालोपत्रे गर्न शिलान्यास भएको तीन वर्षसम्म पनि काम सुरु भएको छैन । कुश्मा २ छमर्केको घुम्तीदेखि लाम्पाटा–हिमालय माद्यमिक विद्यालय जोड्ने सडकमा यस्तो भएको हो ।

२०७२ फागुनमा तत्कालीन सांसद अर्जुनप्रसाद जोशीले कालोपत्रे शिलान्यास गरेका थिए । घुम्तीदेखि हिमालय मावि हुँदै पाङ पुगेर उक्त सडक जलजला गाउँपालिका ८ को दम्भाखोलामा जोड्ने योजना थियो । योजनाअनुसार पोखरा–मालढुंगा–बेनी सडकको वैकल्पिक मार्गका रूपमा यो सडकलाई डबल लेनको बनाउने स्टिमेट सडक डिभिजन कार्यालयले गरेको थियो । डबल लेनको सडकको १२ मिटर कालोपत्रे, ३र३ मिटर सेड–ब्याक, दुईतर्फी नाली, कुश्मा २ खुर्कोटको रिठेखोलामा पक्की पुल र अन्य ससाना खोल्सामा कल्भर्ट राख्ने योजना थियो । बहुवर्षे ठेक्का स्वीकृत भएको उक्त योजनालाई बागलुङको सडक डिभिजन कार्यालयले ठेक्का पनि लगायो । तर, तत्कालीन ठेकेदार डीबी तामाङले थोरै काम थालेर छाडे र त्यसपछि हालसम्म योजनामा प्रगति छैन । निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर काम अघि बढाउन डिभिजन कार्यालयले तदारुकता नदेखाएको स्थानीयको गुनासो छ ।


योजनाअनुसार बहुवर्षे ठेक्का स्वीकृत गराएर उतिबेलै ११ करोड बजेट विनियोजन भएको दाबी पूर्वसांसद जोशीको छ । ‘मुक्तिनाथ जाने यात्रीका लागि सहज हुने वैकल्पिक सडक बनेको भए हाम्रो जिल्लाकै लागि पनि राम्रो थियो,’ उनले भने, ‘२२ किलोमिटर कालोपत्रे गर्न ५९ करोडको स्टिमेट थियो । ११ करोड बजेट छुट्टिएपछि काम पनि सुरु भएको थियो ।’ गत वर्ष उक्त सडकका लागि ४८ करोड स्वीकृत भएको उनले बताए ।


कालोपत्रे गर्न भन्दै पुरानो ट्रयाक भत्काएपछि हिउँदका केही महिना चल्ने सडकमा दुई वर्षयता यातायात आवगमन ठप्प जस्तै छ । ढुंगा र गिट्टीले पुरानो सडक पुरिएपछि यतिबेला पैदलयात्रीलाई हिँड्न पनि असहज छ । ‘पहिले– पहिले गाडी रिजर्भ गरेर ल्याउन सकिन्थ्यो,’ खुर्कोटका योगराज क्षत्रीले भने, ‘हाल पैदल हिँड्नै डर छ । अर्मादी हुँदै घुमेर आउँदा २ घण्टा फेरो बाटो छ ।’ स्तरोन्नतिका नाममा सडकको दुर्गति भएको उनले बताए ।


सडक कालोपत्रे हुने भएपछि स्थानीय सरोकारवालाको पहलमा दुई वर्षअघि रिठे खोलामा पुलको योजना पर्‍यो । योजनाअनुसार पुलको काम सुरु भएको छ । खुर्कोटकै व्यवसायी राजु पौडेलले जिम्मा लिएको पुल आगामी असार मसान्तसम्म सक्नेगरी धमाधम काम अघि बढेको छ । ‘सम्झौताअनुसार असार मसान्तसम्म सक्ने हो,’ उनले भने, ‘हालसम्म ८० प्रतिशत काम सकिएको छ । सम्झौता अवधिभित्रै पुल बनिसक्छ ।’ २० मिटर लम्बाई र ११ मिटर चौडाइको पुल साढे ३ करोड रुपैयाँको लागतमा बन्न लागेको हो । सडक डिभिजन कार्यालय बागलुङका अनुसार क्षेत्रीय सडकको सूचीमा परेकाले बहुवर्षे ठेक्काभित्र परेको यो सडकका लागि चालु वर्ष बजेट छैन । ‘त्योलगायत केही सडक १२३ नम्बर शीर्षकमा परेका छन्,’ डिभिजन प्रमुख थानेश्वर खत्रीले भने, ‘क्षेत्रीय सडकलाई यो वर्षदेखि पैसा आएकै छैन ।’


यो वर्ष धेरै क्षेत्रीय सडकमा स्वीकृत बजेट सरकारले कटौती गर्दा पर्वतसहित धौलागिरिका अन्य सडकको काम पनि अघि बढ्न नसकेको डिभिजन कार्यालयले जनाएको छ । आजको कान्तिपुर दैनिकमा खवर छ । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)