Correspondent, ParbatNepal
8 years ago
1654
पर्वत । पर्वतको कुश्मानगरपालिका भित्रका शिक्षक र बिद्यार्थीहरुलाई उद्घोषण तथा भाषणकला तालिम प्रदान गरिएको छ ।
कुश्मा नगरपालिकाको शिक्षा शाखाको आयोजनामा तालिम प्रदान गरिएको हो । कुश्मा नगरपालिकाका बिद्यालयका शिक्षक र बिद्यार्थीहरुलाई औपचारिक कार्यक्रम सञ्चालन गर्न, समाचार लेखनमा दक्ष बनाउन र स्व पत्रकार उत्पादन गर्न तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । तालिममा ३० जनाको सहभागिता रहेको थियो ।
वैशाख ११ गते मंगलवार देखि शुरु भएको तालिमको विहीवार समापन गरिएको छ । तालिमको समापन गर्दै कुश्मानगरपालिकाका सामाजिक बिकास समितिका संयोजक शिवप्रसाद शर्मा पौडेलले तालिमका सबै सैद्धान्तिक र व्यवहारिक सिपहरुको अनुकरण गर्न भन्नुभयो ।
उहाँले शिक्षाको बिकास बिना समाज परिवर्तन हुन नसक्ने भन्दै नगरपालिकाले शिक्षालाई बढि जोड दिएको बताउनुभयो । पौडेलले नगरपालिकाको शिक्षा शाखालाई कुनै कुराको अभाव हुन नदिने तर्फ जनप्रतिनिधी तयार रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका शिक्षा शाखा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले शिक्षा शाखाले परम्परागत शिक्षा प्रणालीलाई परिवर्तन गर्दै जीवन उपयोगी शिक्षा शुरु गर्न लागेको बताउनुभयो । शिक्षा शाखाले नीति बनाएपनि त्यस्ता नीति र योजनालाई कार्यान्वयन गर्न नगरपालिका, शिक्षक, अभिभावक लगायत शिक्षा संग सम्बन्धित सबैको साथ र सहयोगको अपेक्षा लिएको बताउनुभयो ।
नगरपालिकाले आवश्यक बजेटको व्यवस्था नगरेको उहाँको आरोप छ । वजेट नभए शिक्षाको बिकास कसरी गर्न सकिन्छ भन्दै क्षेत्रीले आवश्यक वजेटको व्यवस्था गरिदिन आग्रह गर्नुभएको थियो । अव शिक्षामा आलटाल गर्ने प्रवृति अन्त्य हुने क्षेत्रीले बताउनुभएको थियो ।
कार्यक्रममा कुश्मा नगरपालिका ७ का वडाध्यक्ष सुवासचन्द्र पौडेल, शिवालय स्रोत केन्द्रका स्रोत व्याक्ति प्रेमप्रसाद सुबेदी,तालिमका संयोजक राजेन्द्र पहाडी लगायतले बोल्नुभएको थियो । तालिमको सिकाई र प्रभावकारिताका बारेमा मंगलोदय माविका शिक्षक तारानाथ शर्मा र बिश्वज्योती मावि पकुवाका शिक्षक झलक पौडेलले बोल्नुभयो ।
तीन दिने तालिममा प्रध्यापक तथा पत्रकारहरु राजेन्द्र पहाडी,पत्रकार भवानीप्रसाद शर्मा, सन्जय रेग्मी र रोशन तिवारीले प्रशिक्षण दिनुभएको थियो ।
