Correspondent, ParbatNepal
8 years ago
1546
पर्वत, १६ वैशाख । राष्ट्र बैंकवाट ‘क’ वर्गको इजाजत्र प्राप्त बाणिज्य बैंक मेगा बैंक नेपाल लिमिटेडको ४८ औ शाखा पर्वत सदरमुकाम कुश्माबजारमा विस्तार भएको छ ।
धौलागिरि अञ्चलमै पहिलो शाखाको रुपमा आइतवार उद्घाटन गरि औपचारिक रुपमा कारोबार शुरु गरेको हो । उक्त शाखाको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले उद्घाटन गरे । सो अवसरमा बोल्दै शर्माले कुश्माबजारमा बैंकहरुको आकर्षण बढ्दै गएको बताए । उनले नागरिकमैत्री सेवा प्रवाहमा जोड दिए । बैंकको आकर्षण बढ्दो छ, तर यो ठाउँको व्यापार व्यावसाय घट्दै गएकाले बैंकहरुले साना लगानीका उद्यमी व्यावसायीलाई प्राथमिकता दिनुपर्ने बताउ ।
कार्यक्रममा मेगा बैंकका नायब महाप्रवन्धक तुलसीराम पोखरेलले उक्त बैंकले प्रवाह गर्दै आएका सेवाहरुको बारेमा जानकारी गराएका थिए । बैंकको कुश्मा शाखाले सवैखाले सेवा सुविधाहरु प्रदान गर्ने भएको छ । उनले हलोदेखि हाईड्रोसम्मलाई प्राथमिकतामा राखेर बैंकले लगानी गर्दै आएको जानकारी दिए ।
बैंकका संचालक इन्द्र बहादुर मल्ल ठकुरीले मर्जरकै कारण केही बैंकहरूको वित्तीय विवरणहरूमा सुधार देखिरहँदा टुरिजम डेभलपमेन्ट बैंकसँग मेगा बैंकको पनि मर्जरको प्रक्रिया अघि बढेको जानकारी दिए । नेपाल राष्ट्र बैंकका साथै कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेको मेगा बैंक र टुरिजमबीच यथाशिघ्र संयुक्त कारोबारको तयारी भइरहेको उनले भनाई छ ।
मेगामा टुरिजम बैंक गाभिएपछि झण्डै एक सय भन्दा बढि शाखा र एक्सटेन्सन शाखाहरु पनि बृद्धि हुने बैंकले जनाएको छ । गणेश पौडेलको सञ्चालन रहेको समारोहमा बैंकका शेयर सदस्य तथा उद्योग बाणिज्य संघका पूर्व केन्द्रिय सदस्य होमनारायण श्रेष्ठ, शाखा प्रवन्धक उमाकान्त तिवारी लगायतले बोलेका थिए ।
एक वर्ष अघिदेखि कारोबार गर्दै आएको कुश्मा शाखाले ११ करोड निक्षेप संकलन गर्न सफल भएको छ भने ५ करोड कर्जा लगानी गरेको शाखा प्रवन्धक तिवारीले जानकारी दिए ।
यो बैंक सँगै कुश्माबजारमा निजि क्षेत्रका बैंकको संख्या ७ पुगेको छ । यस अघि कुमारी, एभेरेष्ट, ग्लोबल, प्रभु, एनआईसी एशिया, बंगलादेश बैंकले कारोबार गर्दै आएका छन् । भने विकास बैंक र लघुवित्तिय संस्थाहरु झण्डै एक दर्जनाको संख्यामा रहेका छन् ।
