Correspondent, ParbatNepal
8 years ago
1706
बैशाख १६ पर्वत ।राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बागलुङ र गुल्मी खण्डको स्तरोन्नति सुरु भएको छ । नेपाली सेनाको निर्माण कार्यदलले ट्रयाक खोलेको यो सडक १० मिटरको बनाउन बिहीबारबाट सुरु गरिएको हो ।
करिडोरको अधिकांश भागमा कडा चट्टान पर्ने भएकाले बम विस्फोट गराएर चौडा पारिने कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्राविधिक प्रमुख सेनानी रेश्मीराज भट्टराईले बताए । ‘अबको दुई साताभित्र फुलफेजमा काम सुरु हुन्छ,’ उनले भने, ‘रिडीदेखि रुद्रवेणीसम्मको ७ किमि बन्द हुन्छ । काम जतिसक्दो छिटो सम्पन्न गर्ने हो ।’ पहिलो चरणमा ७ किमिको काम सकेलगत्तै दोस्रो चरणको काम सुरु हुने उनले बताए ।
‘काम हुने बेलासम्म स्याङ्जाको गल्याङदेखि मिर्मी हुँदै वैकल्पिक सडक प्रयोग गर्न भनेका छौं । सडक अवरुद्ध हुँदैन,’ उनले भने । बजेट अभाव नभए गुल्मी र बागलुङ खण्डको ८० किमि सडक १ वर्षभित्रैमा १० मिटर चौडा पारिसक्ने निर्माण कार्यदलले जनाएको छ । सरकारको प्राथमिकतामा परेका सबै सडक १० मिटर चौडा पार्ने नीतिअन्तर्गत यो सडकको स्तरवृद्धि सुरु गरिएको हो । यो सडकको चौडाइ हाल ८ मिटर मात्रै छ ।
पहिलो चरणमा गुल्मी र बागलुङ खण्डमा चौडा पारेर नाली निर्माण गरिनेछ । बागलुङभित्र करिडोरको ६० किमि भए पनि नयाँ ट्रयाक ३६ किमि हो । अन्य खण्ड बागलुङ–बेनीको पुरानै खण्डमा पर्छ ।
‘बागलुङको ३६ किमिका लागि २५ करोड र गुल्मीतर्फको ४४ किमिलाई ३५ करोड बजेट आवश्यक छ,’ सेनानी भट्टराईले भने, ‘बजेटको समस्या नभए काममा कुनै अवरोध छैन ।’ बागलुङको मालढुंगादेखि टाकुरीसम्म ट्रयाक खुलेपछि ०७३ देखि नै करिडोरमा नियमित सवारी आवागमन छ । साँघुरा मोड र दुई ठूला सवारीलाई सहज आउजाउ गर्न कठिन भएपछि स्थानीयले पनि सडक चौडा पार्न माग गरेका थिए ।
अहिले बागलुङदेखि कुश्मीसेरा हुँदै बुटवलसम्म नियमित यातायात चल्छन् । बागलुङकै बुर्तिवाङ, भीमगिठे र गलकोटलगायतबाट पनि सोझै बुटवलसम्मका लागि सवारी चल्छन् । बागलुङबाट बुटवलसम्मको यात्रा करिडोरमा ४ घण्टामा पूरा हुन्छ । पोखरा–मुग्लिन–नारायणगढ हुँदै जान करिब ८र१० घण्टा लाग्छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार गुल्मीको रिडीदेखि बागलुङको मालढुंगासम्मको ८० किमि सडक चौडा पार्ने कामको आरम्भ गरेका छन् । उनले गुल्मीको रुरु १, फूलबारीस्थित खोपाको पुलनजिकै चट्टानमा बम विस्फोट गराएसँगै काम अघि बढेको हो । मन्त्री ज्ञवालीले सेनाको निर्माण कार्यदललाई बजेटको समस्या नहुने भएकाले सहज काम गर्न निर्देशन दिए । ‘यो सडक ४ र ५ नम्बर प्रदेशको लाइफलाइन हो,’ उनले भने, ‘सडक जति छिटो सुध्रिन्छ, उति नै छिटो यस क्षेत्र सम्पन्नतातर्फ लम्किन्छ ।’ चालु वर्ष ७ किमि सडक १० मिटर चौडा पार्न १० करोड बजेट विनियोजन भएको उनले बताए ।
पहिलो चरणमै सेनाले ट्रयाक खोल्दा करिडोरमा पर्ने १८ साना ठूला पुल बनाइसकेको छ । यिनमा ४ पक्की पुल तयार भइसकेका छन् । बाँकी बेलीब्रिज ९ट्रस्ट पुल० हुन् । सडक चौडा पार्ने कामसँगै सेनाले कल्भर्ट, कजवे र पक्की पर्खाललगायत काम पनि गर्ने प्रमुख सेनानी भट्टराईले बताए । यो अभियानका लागि बागलुङ र गुल्मीका राजनीतिक दल र सामाजिक अगुवाहरू पनि सक्रिय छन् । सुनौलीदेखि कोरलासम्म ४ सय १७ किमि खण्डमा यो सडकले भारत र चीन दुई देश जोड्छ ।
करिडोरमा नियमित सवारी चल्न थालेपछि आसपासका २ सय ३१ वडाका १० लाख ३० हजार जनसंख्यामा बसाइँ सराइ कम हुने विश्वास गरिएको छ । करिडोरले बलेवा, बिनामारे, जैदी, छिस्तीका फाँट, गुल्मी, पाल्पा र पर्वतका समेत बस्तीले आफ्नो कृषि उपजलाई नारायणगढ, गैंडाकोटसम्म सहज बिक्रीका लागि पठाउन सक्छन् ।
