Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1651




भुकम्प पीडितको अनुदान दुरुपयोग
भुकम्प पीडितको अनुदान दुरुपयोग

पर्वत । तिन वर्षअघिको भूकम्पबाट पीडित भएकाको नाममा म्याग्दीमा सरकारी अनुदान दुरुपयोगको जोखिम देखिएको छ । नक्कली भूकम्प पीडित बनेर सरकारी अनुदान लिएर राज्यकोषको दोहन गर्ने जोखिम देखिएको हो ।


सरकारी निकाय र प्राबिधिक समेतको मिलेमतोमा नक्कली भूकम्प पीडितलाई अनुदान वितरण गरिएको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियार र जिल्ला प्रशासन कार्यालयले अनुसन्धान थालेको जनाएका छन् ।


“सरकारी कार्यालय र प्राबिधिक समेतको संलग्नतामा भूकम्पबाट घर क्षति भएको झुटो विवरण लेखि लेखाई अनुदान लिएको” भन्ने विषयमा उजुरी परेपछि छानविन थालीएको सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलले बताउनुभयो । उक्त उजुरीमा बेनी नगरपालिका क्षेत्रका केही नक्कली भूकम्प पीडितहरुको नाम समेत उल्लेख भएपनि छानविन प्रभावित हुने भएकाले प्रशासनले उनिहरुको नामावली सार्वजनिक गरेको छैन् ।


बेनी नगरपालिका र जिल्ला समन्वय समितिलाई पत्राचार गरेर अनुदान बुझेका भूकम्प पीडितहरुको नामावली झिकाई प्रशासनले स्थलगत निरिक्षण गरिरहेको छ । नक्कली भूकम्प पीडितको अनुसन्धानमा सुरक्षा निकाय समेत परिचालन भएका छन् । बैशाख तेस्रो साता बेनपा १ रत्नेचौर पुगेका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले केही व्यक्तिले नक्कली भूकम्प पीडित बनेर अनुदानको दुरुपयोग गरेको भेटिएपनि स्थानीय तहले छानवीनमा असहयोग गरेको गुनासो गर्नुभएको थियो ।


जिल्लाभर ७७२ घरधुरी भुकम्प पीडितले निजी आवास पुननिर्माणका लागि अनुदान सम्झौता गरेका छन् । बेनी नगरपालिकामा सबैभन्दा बढी ३७७ घरधुरी भुकम्प पीडितले अनुदान सम्झौता गरेका छन् । जिल्ला समन्वय समितिको विवरण अनुसार सबैभन्दा धेरै भुकम्प पीडित भएको वडा बेनी नगरपालिका १ हो । जहाँ ७५ घरधुरी भूकम्प पीडित छन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)