Correspondent, ParbatNepal
8 years ago
1894
पर्वत — धाइरिङका एकनारायण पौडेल व्यवसायिक खेतीमा लागेको करिव डेढ दसक भयो । उनले तरकारीबाट मात्रै करिव दुई करोडको सम्पती जोडेका छन् । तरकारीबाट छोटो समयमै आर्थिक फडको मार्नेमा पौडेल एक्ला होइनन् । धाइरिङमा तरकारीबाट करोडपतिको सूचिमा पर्ने दर्जनौं परिवार छन् ।
हाल जलजला ७ मा पर्ने साविकको धाइरिङ गाविस ४ र ५ को सल्यानमा करिव दुई सय परिवारको घना बस्ती छ । बस्तीका अधिकांश परिवार यतिबेला हिउँदे आलु थन्क्याएर बर्खे तरकारी रोप्न व्यस्त छन् । सबैजसो घरका तन्नेरी बिहानदेखि साँझसम्म खेतमा व्यस्त हुन्छन् । नजिकैको धाइरिङ सिंचाई आयोजनाले घरमुन्तिरको समथर फाँटमा बाहै्र महिना सिंचाइ हुन्छ । आधुनिक प्रविधिको प्रयोग, उन्नत जातको बिउ, रोगकिराको सहज निदान र गाउँसम्म सडकको पहुँचलगायतका कारणले पछिल्ला केही वर्षयता तरकारी उत्पादनमा समस्या छैन । उत्पादन भएको तरकारी पोखरासम्म लैजान घरघरै गाडी पुग्छन् ।
यहाँका धेरैजसो युवा दसकअघि घरखर्चकै लागि विदेश जान्थे । हिजोआज चलन फेरिएको छ । यहाँका किसानले हिजोआज जाँगरिलो, काम गर्ने र उत्साह भएको कामदार पाए २० देखि २५ हजारसम्म पारिश्रमिक दिएर काम दिन्छन् । ‘म ६४ सालमा कतार गएर तीन वर्ष बिताएँ । श्रीमतीले घरमा तरकारीबाट गरेको आम्दानीले लोभिएर फर्किएको हुँ,’ गिरिधारी सापकोटा भन्छन्, ‘म घर फर्केपछि साच्चिकै नसोचेको आम्दानी भएको छ ।’ राम्रोसँग सघाउने कामदार फेला पार्न सके आफूले कतारमा रहँदाताका बराबरको पारिश्रमिक दिएर काममा लगाउन चाहेको उनले बताए । उनले हाल करिब ९ रोपनी जमिनमा मौसमी र बेमौसमी तरकारी लगाउँछन् । पश्चिम–पूर्वी मोहोडामा फैलिएको र बिहानदेखि साँझसम्म घाम पर्ने भएकाले धाइरिङ तरकारी उत्पादनमा जिल्लाकै राम्रो क्षेत्रमा पर्छ ।
दसकअघि वैदेशिक रोजगारीमा गएका स्थानीय बुद्धिप्रसाद सुबेदी, योगेन्द्र पौडेल र टेकनारायण आचार्यलगायतले अहिले तरकारीबाटै वर्षेनी १० देखि १५ लाखसम्म आम्दानी गर्दैआएको बताएका छन् । तरकारीको आम्दानीले बेनी, कुश्मा, बागलुङ र पोखरालगायतमा घरघडेरी जोड्नेको संख्या चार दर्जन हाराहारी पुगेको स्थानीय अगुवा नरबहादुर क्षेत्री बताउँछन् । ‘यहाँका सबैजसोको बजारमा घर छ,’ उनले भने, ‘त्यो तरकारीकै आम्दानी हो । बेसिजनमा राम्रो उत्पादन हुने भएकाले यहाँको तरकारीले बढी मूल्य पाउँछन् । थोरै खेतमा तरकारी लगाउनेले राम्रो आम्दानी गर्छन् ।’
एक दसकयता अधिकांश परिवार आम्दानीका लागि तरकारी खेतीमै निर्भर छन् । अगुवा किसान एकनारायण पौडेलका अनुसार चार वर्षयता यहाँका किसानले गोलेभेंडा, काँक्रा, लौका, फर्सी र मुलालगायतको बिउ उत्पादन गर्दैआएका छन् । सिजनमा तरकारीको भाउ घटेका बेला उनीहरू बिउमा उत्पादन र बिक्रीमा जोड दिन्छन् । पौडेलकै अगुवाइमा यहाँका किसानले बिउ उत्पादन गर्न थालेका हुन् । यहाँको बिउ काठमाडौंको कालीमाटीका थोक व्यवसायीले अघिल्लो वर्ष नै खरिद सम्झौता गर्छन् ।
यहाँको व्यवसायिक तरकारीमा विगतदेखि सरकारी तथा गैरसरकारी निकायको सहयोग र सहकार्य हुँदै आइरहेको छ । जिल्ला कृषि विकास कार्यालयले विगतमा तरकारी पकेट क्षेत्र घोषणा गरि प्राविधिक सहयोग गर्दै आएकोमा हाल जलजला गाउँपालिकाले बिशेष सहुलियतका कार्यक्रम ल्याएको छ । जसअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तरकारी पकेट क्षेत्र घोषणा गरि किसानलाई बिउ, मल, मलखाद व्यवस्थापन र करेसाबारी सुधार लगायतमा अनुदानका कार्यक्रम सञ्चालनमा रहेको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए । करिव दुइ सय हेक्टरमा बाह्रै महिना फल्ने तरकारीले मुख्यगरि बेनी, बागलुङ र कुश्माको माग धानेको छ । त्यसबाहेक पोखरा, नारायणगढ र काठमाडौंसम्म पनि यहाँको तरकारी पुग्ने किसानहरू बताउँछन् ।
सहरमा घर भएर पनि यहाँका कुनै बासिन्दा बजार झरेका छैनन् । ‘बजारमा घर छ भनेर उतै बस्न थाले यो हराभरा उजाड भइहाल्छ,’ किसान नरबहादुरले भने, ‘बजारको घरले दिने आम्दानी बुढेसकालको सहारा हो । जाँगर छउन्जेल नङ्ग्रा खियाउनैपर्छ ।’ क्षेत्रीले बेनीको घरबाट हाल मासिक ६० हजार भाडा बुझछन् । त्यो तरकारीकै आम्दानीले किनेको घर हो । उनले तरकारीबाट मासिक ४० देखि ५० हजारसम्म आम्दानी हुने बताए । आजको कान्तिपुर दैनिककमा खवर छ ।
