Correspondent, ParbatNepal
7 years ago
3042
रोशन तिवारी बैशाख १९ पर्वत । जिल्लाको मोदी गाउँपालिकाका ६ गिज्यानका बासिन्दा गाउँमा मोटरबाटो बनाउन सक्रिय रुपमा लागेका छन् । पोखरा–बागलुङ राजमार्गको छेउ डिमुवा बजार बाट गिज्यान सम्म सडक बनाउन स्थानीयले आँगन समेत भत्काईरहेका छन् । गाउँमा सडक भएर पनि गाडी नचल्दाको सास्तीका कारण गाउँले आँगन भत्काएर सडक फराकिलो बनाउन कस्सिएका हुन् ।
२०६० सालमा तत्कालित गाबिसको वजेटले खनेको बाटो ३ मिटर मात्रै रहेको थियो । बाटो साँघुरो र भिरालो हुँदा जीप समेत चल्ने अवस्था थिएन ।
बिरामी पर्दा डोकोमा बोकिएर जानुपर्छ,’ स्थानीय धनकुमारी श्रेष्ठले भनिन्,‘ गाडी चले हामीलाई ठुलो राहात हुन्छ । ’ गाउँमा बाटो भएर पनि गाडी नचल्दाको सास्तीले उनले आफ्नो आँगन भत्काएर गाउँमा सडक बनाउन सहयोग गरेको बताईन् । ‘आँगन नभएर बरु समस्या हुँदैन,‘ श्रेष्ठले भनिन्,‘ हामी सडक बनाउन घर भत्काउन पनि तयार छौँ ।’ धनकुमारी सहित विष्णुप्रसाद श्रेष्ठ, लक्ष्मण श्रेष्ठ लगायत करिव एक दर्जन घर परिवारले आँगन र खेत पुरेर सडक बनाउन सहयोग गरेका छन् ।
डिमुवाबाट ठाना हुदै गिज्यान जोड्ने बाटो बनाउन स्थानीयले श्रमदान गरिरहेका छन् । गाउँपालिकाले दिएको २४ लाख रुपैयाँले बाटोको स्तउन्नती गर्ने काम भैरहेको छ । बाटो स्तरउन्नती भएपछि अव मालवाहक ट्रक, बस समेत सहज रुपमा आउजाउ गर्न सक्ने बनाइएको सडक निर्माण समितिका अध्यक्ष दिपेन्द्र जंग लामिछानेले बताए । गाउँपालिकाले दिएको २४ लाख वजेटमा स्थानीयले थप गरेर र श्रमदान समेत गरेर गाउँसम्म बाटो पु¥याउन सफल भएको लामिछानेले बताए । उनले भिरालो र ग्रेड नमिलेको सडक सम्माएर अहिले ७ मिटर फराकिलो बनाइएको जानकारी दिए ।
मोदीको गिज्यान, ठाना र देउराली तरकारीको पकेट क्षेत्र पनि हो । आवातजावतमा मात्रै नभएर सडक स्तरउन्नती भएपछि स्थानीय कृषि उपजलाई बजार सम्म जोड्न पनि सहज भएको अगुवा कृषक रामबहादुर नेपालीले बताए । ‘गाडी नचल्दा एक डेढ घण्टाको बाटो डोकोमा तरकारी बोकेर बजार पठाउनुपथ्र्यो,’ नेपालीले भने,‘ अव ढुवानीको टण्टो सकियो ।’ नाम मात्रैको सडक हुँदा गाउँलेले पाएको सास्ती अवका दिनमा हटेर जाने विश्वास गरिएको छ ।
सहकारी सञ्चालक एकबिर श्रेष्ठले सडक फराकिलो बनेपछि आर्थिक पूर्वाधारको ढोका खोलिएकोे बताए । उनले त्यसक्षेत्रमा तीनवटा सहकारी रहेको र महिलाहरुले समूहमा मिलेर तरकारी खेती गरेको जानकारी दिए । सहज ढुवानी गर्न सडककै कारण समस्या हुने गरेको स्मरण गर्दै श्रेष्ठले आगामी दिनमा आर्थिक समृद्धिमा सडकले मद्धत गर्ने विश्वास व्यक्त गरेका छन् ।
