Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1849




माझी दम्पत्तीको पीडा : दिनभरि गासको पिरलो, रातभरि बासको पिरलो
माझी दम्पत्तीको पीडा : दिनभरि गासको पिरलो, रातभरि बासको पिरलो

बैशाख १९, पर्वत । कालीगण्डकी किनारको छेउमा एउटा माझी बस्ती छ । जहाँ लालपुर्जा बिनै २८ परिवार मजदुरी गरेर बस्दै आएका छन् । त्यसमा एउटा माझी दम्पत्तीको दर्दनाक अवस्था छ । दिनभरि गासको जोहो गर्न बालुवा र ढुंगा गिट्टीको काम गर्न बिहानै निस्किएको माझी परिवार बेलुका फेरि बासको पिरलो खेप्न बाध्य छन् ।


जुन माझी दम्पत्ती दुई वर्ष अघिदेखि ओढारमा दिनरात काट्दै आएका छन् । निहुरिएर भित्र छिर्नुपर्ने, सानो गुन्द्रीले ओगट्ने ठाउँमा भान्सा, सर–सामान र दुःखजिलो गरी सुत्ने बिस्तारा पनि त्यहीँ । ६२ वर्षीय भीमबहादुर माझी र ४५ वर्षीया चन्द्रकुमारी माझी दुई वर्षदेखि त्यही ओढारमा दैनिकी गुजारिरहेका छन् ।


घर, सम्पत्ति पहिरोमा गुमेपछि बागलुङ–पर्वतको सीमाक्षेत्र मालढुङ्गामा बस्ने माझी दम्पत्ती आफ्नै थातथलोमा पनि ‘शरणार्थी’ झैँ बनेका छन् । बिहान, बेलुका छाक टार्ने केले हो भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर गतिलो सुत्ने बास नहुँदा पिरलोमा पर्दै आएका छन् । 


२०७२ साउन ३ मा मालढुङ्गा–बेनी सडक खण्डको माथि पाङबाट खसेको पहिरोले माझीको घरबास पूर्ण रुपमा क्षतिग्रस्त बनेपछि उनीहरु ओढारमा बस्दै आएका हुन् । घरको भग्नावशेष देखाउँदै चन्द्रकुमारी माझीले आफूहरुको यो हालत हुँदा पनि कसैले नहेरेको गुनासो पोख्नुभयो । उहाँका दुई छोरा अलग्गै घरमा बस्दै आएका छन् ।


दुई छोरीहरुको विवाह भइसकेको छ । बुढेसकाल लाग्ने बेलामा परिवारबाट एक्लिएका माझी दम्पत्तीको बाँच्ने सहारा भनेको कालीगण्डकी किनारको गिटी र बालुवा हो । 


‘बालुवा, गिटी गरेर छाक टार्दै आएका छौँ, हामीलाई कसैले सहयोग गरेको छैन’, चन्द्रकुमारीले भन्नुभयो, ‘हामी पुरानै बासमा फर्कन चाहन्छौं, तर घर केले बनाउने, हाम्रो उपाय छैन ।’


त्यहाँका अन्य केही माझी परिवार पनि विस्थापित अवस्थामा छन् । पुस्तौँदेखि कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीहरुले आफूहरु राज्यबाट उपेक्षामा परेको गुनासो गर्ने गरेका छन् ।


छिटपुट राहत पाए पनि पहिरोबाट विस्थापितहरुको पुनर्बास र व्यवस्थापनमा कसैले ध्यान नदिएको स्थानीय श्रमिक प्राविका प्रधानाध्यापक तेजेन्द्र आचार्यले बताउनुभयो । ‘परिवारको अवस्था साह्रै दयनीय छ, बस्ने बास समेत गुमेपछि यो अवस्था आयो’, उहाँले भन्नुभयो ।


घरमा भएको अलिअलि सम्पत्ति पनि पहिराले पुरेपछि माझी दम्पत्तिको अवस्था झन् कहालीलाग्दो बनेको हो ।बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीहरुले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन लगायतका क्षेत्रमा राज्यको सहयोगको अपेक्षा गर्दै आएका छन् । माछा मारेर जीवन धान्ने माझीहरु पनि त्यही बसोबास गर्छन् ।


वर्षायाम लाग्ने बित्तिकै डर–त्रासमा दिनरात कटाउनुपर्ने अवस्थामा माझीहरु छन् । लगातार दुई वर्षसम्म पहिरो खस्दा माझी बस्तीको साथै त्यहाँ रहेको विद्यालय पनि जोखिममा परेको थियो ।


यो वर्ष पहिरो नखसे पनि विगतको पहिरोले पु¥याएको क्षतिको घाउ निको नभएपछि माझी बस्तीको दुःख अझै रोकिएको छैन । यहाँ बस्दै आएका माझी परिवार र विद्यालयको सहकार्यमा यस वर्ष एक्साभेटरको प्रयोगले बाढी नियन्त्रणका लागि गाउँमाथि सम्याउने काम गरेकाले यस वर्ष बाढी बस्तीमा पस्न नपाएको प्रधानध्यापक आचार्यले बताउनुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)