Correspondent, ParbatNepal
7 years ago
1542
पोखरा । प्रदेशसभा ४ को बैठकमा सरकारका प्रतिनिधि उपस्थित नभएपछि बैठक स्थगित गरिएको छ ।
प्रदेशसभा ४ को बैठकमा बुधबार कुनै पनि मन्त्री उपस्थित नभएपछि नेपाली कांग्रेसका सांसद कुमार खड्काले नियमापत्ती गरेका थिए ।
संसदमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा नियमावलीको एउटा बुँदा निलम्बनको प्रस्ताव पेश गर्न सांसद मायानाथ अधिकारीलाई दिएका थिए ।
संसद नियमावलीमा प्रिबजेट छलफल भएको १५ दिनपछिमात्रै बजेट ल्याउनु्पर्ने व्यवस्था छ । प्रदेश सरकारले बुधबार नै बजेट ल्याउने तयारी गरेकाले नियमावलीको उक्त नियम निलम्बन गर्न लागिएको थियो ।
तर बैठकमा कुनै पनि मन्त्री उपस्थित नभएपछि सांसद खड्काले नियमापत्ती गरेका थिए । त्यसपछि सभामुख अधिकारीले केही बेर बैठक स्थगित गरेका हुन् ।
संसद स्थगित भएको केहीबेरपछि अर्थमन्त्री किरण गुरुङलगायतका मन्त्रीहरु संसद आइपुगेका थिए ।
