Correspondent, ParbatNepal
8 years ago
1501
पर्वत- वर्षाको सुरुवातमै जिल्लाका सबै सडक हिलाम्मे भएका छन् । सडक हिलाम्मे भएपछि यात्रुहरुलाई सकस सुरु भएको छ । छ वर्षअघि कालोपत्रे भएको एकमात्र चित्रे–बसन्तपुर–म्याङलुङ सडकको समेत कालोपत्रे उक्किएर दुई वर्षदेखि बर्सेनि सडक हिलाम्मे बनिरहेको छ । यो वर्ष पनि सडकको स्तरोन्नति नभएपछि यात्रुलाई सास्ती भइरहेको छ ।
वर्षाका महिना सुरु नहुँदै सडक हिलाम्मे भएपछि मध्य वर्षामा यातायातका साधन चलाउन यो वर्ष अझै धेरै समस्या हुने व्यवसायीले बताएका छन् । साता यताको वर्षाका कारण दैनिक सवारी सञ्चालन भइरहेका चित्रे–म्याङलुङ्ग, सिधुवा–शुक्रबारे, जिरिखिम्ती–मोराहाङ, म्याङलुङ्ग–पोक्लाबाङलगायत सडक खण्डमा सडक हिलाम्मे भएर सवारी आवात–जावतमा समस्या सिर्जना हुन थालेको छ । सडक भासिएर दर्जनौँ ठाउँमा घण्टौँसम्म जाम हुन थालेको छ ।
म्याङलुङ्ग–वसन्तपुर सडक खण्डको दर्जनौँ ठाउँमा सडक हिलाम्मे भएर घण्टौँसम्म सवारी जाम भइरहेको लालीगुराँस नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र खड्काले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘सडकका दर्जनाैँ ठाउँमा ड्रेन पुरिएको छ, नालीमा बग्ने पानी सडकमा बग्छ, थोरै पानी पर्नासाथ दर्जनौँ ठाउँमा सडक हिलाम्मे हुन्छ ।’
उनका अनुसार बुधबार विहान लसुने–रातोपाटी खण्डमा घण्टौँ सवारी जाम भएका थिए । साँघुरा सडकमा हिलाम्मे भएपछि एउटा सवारी भासिएपछि घण्टौँसम्म जाम हुने गरेको हो । ‘अहिलेनै हिलाम्मे भएका सडक मध्य वर्षामा कस्ता होलान् ?,’ उहाँले भन्नुभयोे, ‘सडक मर्मतमा वर्षेनि लाखौँ खर्च भइरहेको छ, तर भरपर्दो काम भएको छैन ।’
सडक बिग्रिएर लथालिङ्ग भइसके पनि मर्मतका लागि कसैले चासो नदेखाएको स्थानीय गुनासो गर्छन् । यो सडकखण्ड अहिले सडक डिभिजन कार्यालय धनकुटाले पुष्पलाल मध्यपहाडी लोकमार्गलाई हस्तान्तरण गरिसकेको छ ।
