Correspondent, ParbatNepal
8 years ago
3602
ममतामयी आमा
सादर ढोग छ!
आमा,खोई कहाँबाट सुरू गरूँ? मनमा तिम्रा लागि हजार भावहरू छन् तर ति भावहरू पोख्ने शब्द कतै भेटेको छैन! मान्छेहरू भन्ने गर्छन्,"भगवानको कृपाले सबै ठीक हुन्छ तर भगवान देखेको छैन"! म भन्छु, "आमा! मैले भगवान् देखेको छु; मैले तिमीमा भगवान देखेको छु"!
नत्र मलाई परिस्थितिका तरंगहरूले टाउको दुखाउँदा तिमी कसरी थाहा पाउँथ्यौ? नत्र पेन किलरले सन्चो नभएको दुखाई तिम्रा आवाज सुन्ना साथ कसरी कम हुन्थ्यो? मलाई रातमा निद्रा नलाग्दा आधा रातमा झस्किएर कसरी फोन गर्थ्यौ? भगवान संसारको सृस्टिकर्ता हुन् रे! अनि मेरो संसारको सृस्टि तिमीबाट नै त भयो आमा! त्यसैले तिमी देवि हौ आमा !
आमा! तिमी आज मबाट टाढा छ्यौ! धेरै टाढा! क्षितिज पारी! हिजो राती सपनीमा देखेको थिएँ तिमीलाई! तिम्रो काखमा यो शिर राखि निदाएको थिएँ जुन निद्रा म ननिदाएको पनि आज दुई वर्ष बितिसक्यो! आमा! आज दैवले हामिलाइ टाढा बनाएको छ! नचाहदा नचाहदै तिमिलाइ बिदा गरेको दिनदेखी कुनै दिन तिमिलाइ नसम्झेको दिन छैनन् होला! हरेक रात तिम्रो याद मुटुमा लुकाइ आँशुको भेल बगाउँछु! तिमिलाइ बाडुल्की लाग्छ कि नाइ? तिम्रा उमेरका कोहि बाटोमा देख्दा तिमिलाइ सम्झिन्छु अनि आँखा भरिन्छन् र......!!! ...आफ्नै भाग्य लाई धिक्कर्छु ।
सपनामा तिमीसंगै भएको देख्छु तर विपनीमा यो स्वार्थी दुनियाँमा आफूलाई एक्लै पाउँछु! हरेक पाईलामा तिमीलाई सम्झन्छु! जब म भोको पेट लिएर घर फर्कन्छु,तिम्रो हातले मलाई खुवाएको खाना झल्झलि सम्झिन्छु अनि आँखा भरिन्छन्! म सन्चो नभएर सुतेको रात तिमी म बिरामी हुँदा रात रात जागेको सम्झिन्छु अनि आँखा भरिन्छन् !
आमा तिम्रा मौनता म महसुस गर्छु! तिम्रा ओठका मुस्कान किन्ने रहर भएर पनि अधुरै रह्यो! तिमि हामिबाट टाढिएकि छ्यौ ! सानिआमा ठुलिआमा घरवरपर डुलेको देख्दा तिमिलाइ नै सम्झिन्छु अनि मन भक्कनियर आउँछ! आमा तिम्रा गालिमा पनि माया थिए! एक पटक फेरी मलाई त्यहि माया मिसिएको गालि सुन्नु छ !
मलाई तिम्रो काखमा शिर राखि निदाउनु छ! तिम्रा रसाएका आँखा पुछ्नु छ! आमा मलाई फेरी तिम्रा हातले खुवाएको एकै गाँस भएपनि ममताका गाँस खानु छ!तिम्रा हरेक रहर पुरा गर्नु छ! तिमीले नफेरेको आशाका सारी फेर्नु छ! तिम्रा चाउरिएका आशाहरूलाई हँसाउनु छ! तिम्रा वाध्यताले फुटेका भाग्यका हातहरूमा मलम लगाउनु छ! साँच्चैनै आमा मलाई तिम्रै नजिक हुनु मन छ! जब तिमीलाई सम्झिएर आधा रातमा बेचैन हुन्छु तिम्रा तस्विर हेरी म पनि यादहरू आँशुले पखाल्छु !
कहिलेकाहिँ काममा व्यस्त हुँदा हुँदै एक्कासि तिमीले मलाई बोलाएको झैँ लाग्छ अनि हतारिएर हेर्छु तर यि भोका आँखाहरूले तिम्रो उपस्थिति पाउँदैनन्!आमा तिमी मेरो कल्पना र सपनामा आईरहन्छौ तर यो स्वार्थी दुनियाँमा हकिकतमै तिमी आईदिए....!!!
आमा यति लेख्दा लेख्दै आँशुका ढिकाले आँखा भरिएछन!!! लेख्दै गरेको भावनाका मसिहरू रूँदै छन्! आमा म भक्कानिँदै छु ! यहाँ भन्दा बढि केहि लेख्न सकिन!
आमा !! तिमीलाई मेरो न्यानो सम्झना र प्रगाढ माया छ! अर्को जन्ममा फेरि तिम्रै सन्तान बनेर यहि धरती मा जन्मिन पाँउ!! तिम्रो बैकुण्ठ बासको कामना!!!
उहि तिम्रो अभागी छोरा बिमल
