Correspondent, ParbatNepal
8 years ago
1859
विशन क्षेत्री
पर्वतका सात स्थानीय तहमा कर्मचारी खटाईएको छ । श्रावण एक गतेदेखि स्थानीय तहमा कर्मचारी उपस्थित गराउने केन्दको निर्देशनानुसार कर्मचारी व्यवस्थापन समितिले जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिका सहित सात स्थानीय तहमा ४२ जना कर्मचारी खटाईएको जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकले जिल्लाका विभिन्न सरकारी कार्यालयबाट स्थानीय तहअन्तर्गत नगरपालिका तथा गाउँपालिकामा कर्मचारी खटाएको हो । स्थानीय तहमा खटाइएका कर्मचारीमा जिल्ला प्राविधिक कार्यालयबाट १० जना प्राविधिक खटाईएको सहायक प्रमुख जिल्ला अधिकारी डिल्लिराम पौडेलले जानकारी दिए । प्राविधिक कार्यालयले एक ईञ्जिनियर, दुई जना सब ईञ्जिनियर, तीन जना असिष्टेण्ट सब ईञ्जिनियर र चार जना खानेपानी तर्फका प्राविधिक खटाईएको हो । त्यस्तै प्रशासनिक कार्यको लागि कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा चार जना नासु र छ जना खरिदार गरि १० कर्मचारी खटाईएको पौडेलले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयबाट भने १४ जना कर्मचारी स्थानीय तहमा पठाईएको प्रशासनले जनाएको छ । अर्को निर्णय आएपश्चात मात्र थप कर्मचारीको समायोजन र स्थानीय तहमा पठाईने कार्यालयले जानकारी दिएको छ ।
जिल्ला कृषि विकास कार्यालयले भने आफै नै एक स्थानीय तह, एक प्राविधिक खटाएको छ । सात स्थानीय तहमा सात प्राविधिक र एक जना जिन्सीको कर्मचारी पठाएको हो । जिल्ला कृषि विकास कार्यालयले तत्कालको आवश्यकताबमोजिम कर्मचारी खटाएतापनि दुई नगरपालिकामा दुई अधिकृत, चारजना नासु र छ जना खरिदार खटाउनको लागि तयारी गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए । ती कर्मचारीहरुलाई कृषि विकास कार्यालयले नै तलब खुवाउने उनले जानकारी दिए ।
