Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1436




कालीगण्डकी लोकमार्गको काम धमाधम
कालीगण्डकी लोकमार्गको काम धमाधम



जेठ ९ पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत तथा स्याङ्गजा खण्डमा स्तरउन्नति र ट्रयाक खोल्ने काम धमाधम भैरहेको छ । करिब २ वर्षसम्म सुस्त अवस्थामा रहेको कालीगण्डकी लोकमार्गको पर्वत–स्याङ्जा खण्डमा  निर्माण कार्यले अहिले गति लिएको हो ।

 

उत्तर–दक्षिण कालीगण्डकी लोकमार्ग गैंडाकोट–मालढुंगा आयोजनाले दिएको जानकारी अनुसार पर्वतको सदरमुकाम कुश्मादेखि स्याङ्जाको मिर्मीसम्मकोे करिब ५४ किमी सडक खण्ड अन्तर्गत रानीपानीदेखि फलेबाससम्मको २५ किलोमिटर लामो सडक क्षेत्रमा बिस्तारको काम भइरहेको छ ।

 

त्यस खण्डको स्तरबृद्धि गर्न ४० करोड बजेट विनियोजन भएको छ । अहिले ४ वटा डोजर लगाएर काम सञ्चालन भएको छ । उक्त सडक १० मिटर चौडाईको हुनेछ । ‘यो खण्डमा ग्राभेलस्तरको सडक तयार हुनेछ । रानीपानी–फलेबास खण्डमा विस्तारको  काम युद्धस्तरमा भैरहेको छ’, आयोजना प्रमुख नारायण भण्डारीले भन्नुभयो, ‘यो विस्तारको कामपछि फेरि कालोपत्रेको काम अघि बढ्ने छ ।’

 

चीन–भारत जोड्ने कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वतको फलेबास ढिकदेखि कुश्मा सडक खण्डको काम यद्धस्तरमा अघि बढेको छ । मोदीबेणीदेखि अर्मादीसम्म असारसम्ममा ट्रयाक खोली सक्नुपर्ने भएपनि काममा ढिलाई भएको छ  । ‘ठेकेदार कम्पनीलाई काम समयमा सम्पन्न गर्न दबाब दिइरहेका छौ’, आयोजना प्रमुख भण्डारीले भन्नसभयो ।

 

उक्त सडक खण्डको काम अहिलेसम्म ५० प्रतिशत सम्पन्न भएको उहाँले बताउनुभयो । अहिले मिर्मी—सेतीबेनीको ट्रयाक लामो समयपछि खुलेको छ । मोदीबेनी, लमायखोला, सेतीबेनीमा पनि ट्रयाक  खोल्ने काम धमाधम भएको छ । रानीपानी र बाच्छाबीचको पहरोमा काम भएको छ ।

 

पछिलो २ वर्षमा क्षेत्रीय सडक आयोजना अन्तर्गत समावेश भयो । वार्षिक १० लाखले काम गर्न आर्थिक समस्या भएकाले काम सुस्त भएको उहाँको गुनासो थियो । चालु वर्षदेखि फेरि यो आयोजना राष्ट्रिय आयोजनामा समेटिएको छ । काम गर्न सके अनुसार पैसा आउँछ ।

 

३ वटा अञ्चल, ९ वटा जिल्ला हुँदै उत्तरी छिमेकी राष्ट्र चीनको कोरला नाका जोडिएकाले यस क्षेत्रको मेरुदण्डको रुपमा यो सडकलाई हेरिएको छ । पर्वतलाई चीनसँग जोड्न कालीगण्डकी लोकमार्गको निर्माण कार्य पूरा गरी सरकारले नाका खोल्न सके भारतबाट आयात गर्ने दैनिक उपभोग्य सामानहरु सहजै चीनबाट आयात गर्न सकिने उद्योग बाणिजय संघका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो ।

 

लोकमार्ग बनेपछि सुस्ताउँदै गएको सदरमुकामको अवस्थामा सुधार आउने व्यवसायीको अपेक्षा रहेको शर्माले बताए । यो लोकमार्गलाई धार्मिक दृष्टिले समेत महत्वका साथ हेरिएको छ । लुम्बिनी आउने पर्यटकहरु एकैदिनमा मुस्ताङको मुक्तिनाथ पुग्न सक्छन् । यो लोकमार्गले भारतीय पर्यटकहरुको आगमन बढ्ने पर्यटन व्यवसायी बताउँछन् । 



सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)