Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1431




स्थानीय परिकारले पर्यटक लोभ्याईँदै
स्थानीय परिकारले पर्यटक लोभ्याईँदै


जेठ ९ पर्वत । गाउँघरमै पाईने कोदोको ढिँडो, गुन्द्रुक, मकैका परिकार, स्थानीय कुखुराको मासु जस्ता अर्गानिक खानेकुराले पाहुनाको स्वागत गर्न महाशिला गाउँपालिका वडा नम्बर ५ दुक्तान र वडा नम्बर ४ लामतुङमा होेमस्टे सञ्चालनमा आएको छ । यहाँ भर्खरै सञ्चालन गरिएका होमिस्टेमा गाउँमा पाईने २७ प्रकारका परिकार पाहुनालाई ख्वाउने योजना बनाएका छन् । 


दुक्तानमा आठ र लामतुङमा १३ परिवारले होमस्टे सञ्चालनमा ल्याएका हुन । गाउँमा आउने पर्यटकहरुलाई पटक पटक आउने गरि लोभ्याउन स्थानीयले परिकारमा बढि जोड दिएका होमस्टे सञ्चालक भीमप्रसाद गुरुङले बताउनुभयो ।  

महाशिलामा आकर्षक पर्यटकीय तथा धार्मिक स्थल रहेको र त्यहाँ आकर्षित गरी होमस्टेमा बस्ने ब्यवस्थापन मिलाउन होमस्टेलाई प्रबद्र्धन गरिएको महाशिला गाउँपालिकाका प्रवक्ता एवम. वडा नम्बर ५ का वडा अध्यक्ष जिवन विक्रम उच्चैले जानकारी दिनुभयो । होमस्टे सञ्चालकलाई पाहुनालाई गर्ने सेवा सत्कारदेखि खाने खाना बनाउने सबै सीप तालिममार्फत प्रदान गरिएको उहाँले बताउनुभयो । 

महाशिला वडा नम्बर ५ दुक्तानमा होमस्टे सञ्चालनमा ल्याएका भिमप्रसाद गुरुङले होमस्टेमा आउने पाहुनाको अर्डर अनुसार २७ प्रकारका अर्गा्निक खानेकुरा खुवाउन सकिने जानकारी दिनुभयो ।  ‘होमस्टेमा प्रदान गर्ने सेवा, सत्कारदेखि खुवाउने खानाका विभिन्न प्रकार बनाउने तरिका हामीले सिकेका छौ’ उहाँले भन्नुभयो–‘पाहुनाको अर्डरअनुसार होमस्टेमा पुनः फर्कने गरी सेवा प्रदान गर्छौ ।’

महाशिलामा हालै सञ्चालनमा आएका २१ वटा घरमध्ये एउटा घरमा पाँच जना पाहुना राख्नसक्ने क्षमता रहेको छ । ‘२१ परिवारमा एक सय पाँच जना पाहुना अट्ने क्षमता रहेको छ’ गाउँपालिका प्रवक्ता उच्चैले भन्नुभयो । महाशिलामा जिल्लामा गनिएका मुख्य पर्यटकीय तथा धार्मिस्थल रहेका छन् । लुंखुको महाशिला, पैंयूकोट, चिसापानी लेक, फलामखानीको अवलोकन, गंगाधर गुफा, बसाह मन्दिर मुख्य धार्मिक तथा पर्यटकीयस्थल हुन ।

महाशिलामा रहेका धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन तथा भ्रमणका लागि तिन दिनको प्याकेज बनाइएको र त्यहाँ आउने पर्यटकलाई सस्तो मुल्य र मिठो स्वादमा अर्गानिक खाना खुवाउने गरी बासको ब्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । ‘तीन दिनमा महाशिलामा रहेका सबै पर्यटकीय तथा धार्मिकस्थलको अवलोकन गर्न सकिन्छ’ उच्चैले भन्नुभयो,‘महाशिलामा आउने पाहुनालाई त्यहाँ सस्तो र छुट्टै स्वादका साथ अर्गा्निक खाना खुवाउने गरी बस्ने ब्यवस्थापन गरेका छौ ।’

महाशिलाको चिसापानीबाट एक दर्जन जिल्ला र आकर्षक हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । दशकौअघि महाशिलामा फलामखानी सञ्चालनका क्रममा बनेका सुरुङहरुको समेत अवलोकन गराउने ब्यवस्था गाउँपालिकाले मिलाएको छ । होमस्टे सञ्चालनमा आएपछि कुनैपनि गाउँमा आउने पर्यटकलाई बस्नको असुविधा नहुने गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष पौडेलले होमस्टेलाई एक घर एक रोजगार कार्यक्रम अन्र्तगत नै राखिएको बताउनुभयो । गाउँपालिकाले अहिले तीन सय ७० जनालाई गाउँपालिकामा रोजगारी दिने गरी तालिम दिन सुरु गरेको छ । १८ बिधाअन्र्तगत होमस्टेलाई पनि समावेश गरिएको छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)