Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1687




आत्मानिर्भर हुन सीप सिक्दै बुहारी
आत्मानिर्भर हुन सीप सिक्दै बुहारी



जेठ ९ पर्वत । फलेवास नगरपालिका ५ खानीगाउँकी बिन्दु सुनारका श्रीमान रोजगारीका लागि कतारमा छन् । उनले मासिक रुपमा ३० हजार रुपैयाँ कमाउँछन् । श्रीमानले पठाएको खर्चले घर धान्न मुस्किल भएपछि बिन्दुले घरमै बसेर सहज रुपमा आम्दानी गर्ने बाटो रचिरहेकी थिईन । सीप बिकास तालिम केन्द्रले गाउँमा सिलाई कटाई तालिम दिन थालेपछि उनलाई भने जस्तै भएको छ । सीप सिकेर एउटा मेशिन किनेर गाउँमै बसेर आम्दानी गर्न सकिन्छ भनेर उनी अहिले तालिम लिईरहेकी छिन् । 


‘सिकेको सीप खेर फाल्दिन,’ बिन्दुले भनिन्,‘तालिम पछि गाउँमै टेलर पसल खोल्छु ।’ उनले तालिममा महिलाहरुका पोशाक संर्ग पुरुषका पोशाक समेत सिलाउने तरिका सिकिरहेकी छिन् । भबिष्यमा उनले टेलरिङ पसल नै खोल्ने भएपछि तालिममा सबै कुरा सिक्ने सोचमा छिन् ।

गाउँमै २ महिने सिलाईकटाई तालिम चलेपछि बिन्दु जस्तै सबिता थापा पनि तालिम लिन मै व्यस्त छिन् । सबिता बिहान घरको काम सकेर नियमित रुपमा तालिममा सहभागी हुँदै आएकी छिन् । उनी पनि सीप सिकेर व्यवसाय चलाउने सोचमा छिन् । ‘आफुलाई केहि कुराको खाँचो पर्दा अरु संग हात थाप्न नपरोस भन्ने कस्को चाहना हुन्न र,’ थापाले भनिन्,‘आफ्नै खुट्टामा उभिनका लागि तालिम लिँदै आएकी छु ।’ 

थापा र सुनार मात्रै हैन सन्तु दर्जी, अनिता नेपाली सहित २० जना बिबाहित महिलाहरु सीप सिकेर आत्मानिर्भर हुनकै लागि तालिममा सहभागी भएका हुन् । उनीहरु सबैको एउटै लक्ष्य छ– बुहारी भनेर अव चुलोचौकोमा मात्रै सिमित हुने हैन केहि गरेर देखाउनु छ’ । 

अघिल्लो महिनाबाट चलेको तालिम कार्यक्रममा संझना परियारले तालिम दिईरहेकी छिन् । उनी पनि बुहारी नै हुन् । तालिम लिँदै गरेकी अनिता नेपालीले भनिन्–‘संझना म्याडम पनि हामी जस्तै महिला नै हुनुहुन्छ । हामीलाई तालिम दिनुभएको छ । म पनि भविष्यमा उहाँ जस्तै आत्मानिर्भर हुन चाहान्छु ।’ पढेलेखेका र नपढेका सबैले गर्न सक्ने, धेरै लगानी गर्न नपर्ने, सीप भए सहजै आम्दानी गर्न सकिने भएर यहाँका बुहारीहरु सिलाई काटाई तालिम पश्चात व्यवसाय शुरु गर्ने सोचमा रहेका हुन् । 

‘बुढाले पैसा खोजेर म पठाईदिन्छु तालिम लिएर टेलर खोल भन्नुभएको छ,’ अनिता नेपालीले भनिन्,‘ तालिम लिन झण्झट थियो । गाउँमै तालिम आएपछि टण्टो भएन् । अव तालिम पछि घर सल्लाह गरेर फलेबासमै टेलर खोल्ने सोचमा छु ।’ अहिले फलेबास नगरपालिकाको केन्द्र खानीगाउँमै रहेको छ । नगरपालिकाको केन्द्र बनेपछि यहाँ व्यवसाय बढ्दै गएको छ । मानिसहरुको आवाजजावत बाक्लिन थालेको छ । बस्ती बाक्लिन थालेकाले सिलाई कटाई व्यवसाय गतिलो व्यवसाय बन्नेमा महिलाहरु ढुक्क छन् । 

गाउँका पुरुषहरु धन कमाउन बिदेश छन् । बिदेशमा नगएका यूवा नभएको कुनै घर नै छैन् । श्रीमान् बिदेश गएपछि श्रीमती बजारमा आएर बस्ने चलन समेत छ । अब गाउँमै सुबिधा पुगेकाले बजारमै गएर बस्नुपर्ने समस्या टर्दै गएको छ । सीप सिकेपछि धेरै नसकेपनि छोराछोरी पढाउने खर्च भएपनि जुटाउन सकिन्छ भनेर तालिम लिन थालेको सन्तु दर्जीले बताईन । 

सीप बिकास तालिम केन्द्रका प्रमुख किरणचन्द्र सुबेदीले निशुल्क रुपमा महिलाहरुलाई तालिम दिइएको बताए । ‘बिशेष गरि सिलाई कटाई तालिम लिनेहरुले व्यवसाय शुरु गरेको पाइएको छ,’ सुबेदीले भने,‘ खानीगाउँका दिदिबहिनीले पनि सीप सिकेर व्यवसाय नै शुरु गर्ने सोच बनाएकोमा खुशी लागेको छ ।’ सुबेदीले सीप बिकास तालिम केन्द्रले स्थानीयको मागको आधारमा सीपमुलक तालिम दिँदै आएको र विपन्न र दलित समुदायमा तालिम केन्द्रित गर्ने गरेको बताए । अन्य सीप सिक्नेहरु तालिम पछि हराउने गरेको तर सिलाई कटाई पछि कहिँ न कहिँ इन्गेज्ड हुने गरेका उनले बताए ।  


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)