Correspondent, ParbatNepal
8 years ago
2079

विशन क्षेत्री
पर्वत । नेपालकै चौथो सानो जिल्ला भएर पनि पर्यटनमा उत्कृष्ट जिल्ला ठहरिएको पर्वत अग्ला पुलको सहरको रुपमा चिनिन थालेको छ । मुलुककै लामा र अग्ला झोलुङ्गे पुल, केबलकार डिजाइनको यान्त्रिक पुल र निर्माणाधीन बन्जी जम्पले पर्वतको पर्यटनलाई थप प्रवद्र्धित गरेका छन् । पुलले भौतिक पर्यटनका साथै धार्मिक पर्यटनलाई पनि बढाउँदै लगेका छन् ।
सदरमुकाममा रहेका पुलबाट १५ मीनेटको दूरीमा रहेको अल्पेश्वर गुफा, २० मिटरको दूरीमा रहेको गुप्तेश्वर गुफा, ३० मिटरको दूरीमा रहेको मोदीवेणी धाम, ४० मिटरको दूरीमा रहेको कालीगण्डकी ¥याफ्टिङ क्षेत्र, २ घण्टा दूरीमा रहेको ऐतिहासिक मल्लाज दरबार, ५ घण्टाको दूरीमा रहेको पञ्चकोशी ताल, १० घण्टा दूरीमा रहेको सेतीवेणी शालीग्राम शिला तथा हम्पालको टाकुराले पर्यटकहरुको नजर तान्न थालेका छन् ।
पर्वतलाई भौतिक पर्यटनमार्फत आर्थिक समृद्धितर्फ उन्मुख गराउने पुलबारे केही जानकारी-
कुश्मा–ज्ञादी झोलुङ्गे पुल
निर्माणताका मुलुककै सबैभन्दा अग्लो र लामो झोलुङ्गे पुलको रुपमा चर्चित कुश्मा–ज्ञादी झोलुङ्गे पुल २०६७ सालमा निर्माण भएको हो । २०६५ बैशाख २६ गते शिलान्यास गरी दुई वर्षको अवधिमा उक्त पुलको निर्माणकार्य सम्पन्न गरिएको थियो । पुलको तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङ्गले उद्घाटन गरेका थिए ।
यो पुलको लम्वाई ३४४ मिटर रहेको छ भने उचाई १३५ मिटर रहेको छ । पुलले दजैनौँ गाविसवासीलाई एक घण्टाको पैदलयात्रा पाँच मिनेटमै छोट्याएको छ । पुलको भार वहन क्षमता १०८ मेट्रीक टन अर्थात १,८०० जना पदयात्री रहेको छ ।
उक्त पुललाई नेशनल जोग्राफी च्यानलले बिश्वका १० अलौकीक पुल मध्ये छौटौ नम्बरमा पारेर प्रशारण गरिररहेको छ ।
यही पुलको परिसरमा ब्रिज पार्क निर्माण गरिने भएको छ । ३७ औं पर्यटन दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले पार्कको शिलान्यास गरेका हुन् । पुल अवलोकनका लागि दैनिकजसो आउने पर्यटकलाई केही समय विश्राम गर्न र पुलसम्बन्धी अवलोकन गर्नुका साथै विभिन्न सभा, समारोह, गोष्ठीजस्ता कार्यक्रमसमेत सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले बृज पार्कको निर्माण गर्न लागिएको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले जानकारी दिए ।
नेपाल पर्यटन बोर्ड पोखरा, जिविस पर्वत र कुश्मा नगरपालिकाको सहयोग तथा पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको आयोजनामा ब्रिज पार्कको निर्माण कार्य अघि बढाइएको हो । उक्त पार्क्भित्र विभिन्न मनोरम दृश्य, बस्नका लागि कटेज, कार्यक्रम गर्नका लागि हल, शौचालय तथा मनोरञ्जनात्मक दृश्य निर्माण गरिनेछन् । ऊर्जाखोलाका रूपमा परिचित मोदीखोला र पुलसँगै हेर्न तथा दृश्य लिन मिल्नेगरी डिलमा रेलिङ पनि निर्माण गरिने भएको छ ।
उक्त पार्क निर्माणका लागि रू. २५ लाख लाग्ने अनुमान गरिएको छ । पर्यटन बोर्डले पहिलो चरणमा रू. ३ लाख उपलब्ध गराएको छ । १ वर्ष्भित्र सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको छ । यस्तै, जिल्लाको अर्को अग्लो पुल बडागाउँ–मुडिकुवा पुलको निर्माण कार्य करीब ८० प्रतिशत पूरा भएको छ ।
कुश्मा–कैयाँ झोलुङ्गे पुल
पर्वत र बाग्लुङ दुई जिल्ला जोड्ने कुश्मा–कैयाँ झोलुङ्गे पुल नेपालकै नेपालकै अग्लो र लामो पुल हो ।
कूल ३४७ मिटर लम्बाई र २ मिटर चौडाइ रहेको उक्त पुल नदीदेखि १५६ मिटरको उचाईमा रहेको छ । कूल लागत एक करोड ५६ लाखमा सम्पन्न उक्त पुलमा १६ वटा लठा राखिएको छ । पुलमा मोटरसाईकल आवतजावत समेत गर्न सक्नेछन् । यो पुलको तत्कालीन उपप्रधान एवम स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले २०७० फागुनमा उद्घाटन गरेका हुन् ।
कुश्मा–मुडिकुवा पुल
पछिल्लो पटक निर्माण भई सञ्चालनमा आएको पुल हो कुश्मा–मुडिकुवा पुल । कुश्मालाई फलेबास नगरपालिका, पैञ्यूँ, बिहादी र महाशिला गाउँपालिकासँग जोड्ने काम यो पुलले गरेको छ । मोदीखोला माथिब बनेको यो पुल तीन सय ५९ मिटर लामो छ । पुलको उचाई एक सय ५५ दशमलब ७० मिटर छ । यो पुल एक करोड ७६ लाख ९९ हजारमा निर्माण भएको हो ।
कुश्मा–बलेवा यान्त्रिक पुल
केबुलकार डिजाइनमा निर्मित नेपालकै एकमात्र यान्त्रिक पुल पर्यटन प्रवद्र्धनमा अब्बल सावित हुँदै गएको छ । निजीक्षेत्रबाट सञ्चालित यस पुलले वर्षेनी करोडौं आम्दानी गर्दै आएको छ ।
देशका प्रतिष्ठित व्यापारीको समेत लगानी रहेको उक्त पुलमा स्थानीयवासी तथा व्यवसायीको करीब ५ करोड रुपैयाँ लगानी रहेको छ । रोपवे केवलकार प्रालिले निर्माण गरेको केबलकार मोडलको उक्त पुल निर्माण सम्पन्न भएपछि कुश्मादेखि बलेवासम्मको १ घण्टाको दूरी ४ मिनेटमै वारपार गर्न सम्भव भएको छ ।
करीब १६ वर्ष अगाडिदेखि बन्द अवस्थामा रहेको बलेवा एयरपोर्ट सञ्चालनका लागि सहयोग पुगोस् भन्ने हेतुले लगानीमा जोड दिइएको यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।
बागलुङ, म्याग्दी र मुस्ताङका लागि पैदलमार्ग भएर आउने पर्यटकसमेत एकपटक यान्त्रिक पुलमा चढेर जाने वातावरण बनेको छ भने पुल बनेपछि प्रसिद्ध भैरवथान मन्दिरमा दर्शन गर्ने तीर्थालुको सङ्ख्यामा समेत वृद्धि भएको उनको भनाइ छ ।
कालीगण्डकी करिडोर निर्माण सम्पन्न भएपछि आवातजात गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।
नेपालकै सबैभन्दा धेरै शेयर सदस्य भएको र मोफसलमा ठूलो लगानी भएको उक्त यान्त्रिक पुलको कुल लम्बाइ ५ सय ५० मिटर छ भने क्यारियज क्षमता ८ जना (६०० केजी) रहेको छ । पुलको मोटर क्षमता ३० किलोवाट, लाइन स्पीड ३ मिनेट प्रतिसेकेण्ड, भ्यालीको गहिराइ २ सय ६२ मिटर रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
गत आवमा मात्र पुलले १ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । गतआवमा पुलले उक्त नाफा कमाएको छ । पुल ३ वर्ष अघिदेखि सञ्चालनमा आएको हो ।
विश्वकै दोस्रो अग्लो बञ्जी जम्प
पर्वतमा निर्माणाधीन विश्वकै दोस्रो अग्लो बञ्जी जम्पको काम तीव्र रूपमा भइरहेको छ । ह्विसिङ सिष्टमबाट निर्माण गरिएको बञ्जी जम्प २ सय २५ मिटर अग्लो हुनेछ । कालीगण्डकी नदीमाथि निर्माण भइरहेको यो बञ्जी जम्प आगामी डेढ वर्षभित्र पूरा भइसक्ने बताइएको छ । यो बञ्जी जम्प भोटेकोशीको भन्दा ६५ मिटर अग्लो हुनेछ । बञ्जी र स्विङका लागि बनाइने पुलमा ठूला–ठूला प्वालसहितको एडभेञ्चर्स फिल गराइनेछ । यो बञ्जीबाट खोलामा झरेपछि हिँड्दै माथि आउनुपर्दैन ।
यसमा रहेको ह्विङ्स सिष्टमले आफै तानेर पुलमा ल्याउनेछ । बञ्जीमा ४ देखि ५ सेकेण्डको ‘फ्री फल’ हुने व्यवसायी युवराज जोशीले बताए । बञ्जीका लागि आउने पर्यटकलाई बस्नका लागि बलेवा क्षेत्रमा स्तरीय रिसोर्ट बनाइने उनको भनाइ छ । करीब २० रोपनी क्षेत्रफलमा फैलिने रिसोर्टमा पहिलो चरणमा ३० ओटा रूम बनाउने तयारी भइरहेको छ । दोस्रो चरणमा २० ओटा रूम थपेर ५० पु¥याइने उनले बताए । पोखरा आउने पर्यटकलाई लक्षित गरेर बञ्जी निर्माण गर्न लागेको जोशीले जानकारी दिए ।
बञ्जीसहित रिसोर्ट, स्विङ र पुल निर्माणका लागि करीब ११ करोड लगानी हुने अनुमान गरिएको छ । बञ्जीमा राजु कार्की, युवराज जोशी, नेत्र पराजुली (फ्लोरिडा) र स्थानीय बासिन्दाको लगानी रहनेछ । यो बञ्जी सञ्चालनमा आएपछि नेपालको साहसिक पर्यटनमा नयाँ आयाम थपिने अर्का लगानीकर्ता पराजुलीले बताए ।
