Correspondent, ParbatNepal
8 years ago
1727
जेठ १६, पर्वत । कालीगण्डकी नदीमा जलाशाय युक्त परियोजना संचालन गराउनका लागि कालीगण्डकी नदीको संभाव्यता अध्यायनका लागि नेपाल सरकारले बजेट विनियोजन गर्ने भएको छ । सरकारले मंगलवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५ ०७६ को बजेटमा कालीगण्डकी बहुद्देश्यीय परियोजनाका लागि बजेटको व्यवस्था गरेसँगै यस आसपासका नागरिकहरु समेत खुशि बनेका छन् । केही समय अगाडी मात्रै फलेवास नगरपालिका पर्वतका प्रमुख पदमपाणी शर्माले संभाव्यता अध्यायनका लागि माग गर्दै सरकारको ध्यानाकर्षण गरेको केही समयमै उक्त आयोजना संभाव्यताको अध्यानका लागि बजेट बिनियोजन भएको हो ।
कालीगण्डकी नदी आसपास क्षेत्रका स्थानीय तहहरुले प्रदेश नं। ४ अन्तर्गत पर्वत र बाग्लुङका साथै प्रदेश नं। ५ गुल्मीका स्थानीय तहहरुले संयुक्त रुपमा यस्तो आयोजना अगाडी बढाउन संघीय सरकारसँग माग गरेका थिए । कालीगण्डकी नदीमा बाँध निर्माण गरि जलाशाययुक्त बिद्युत परियोजना संचालन भएमा यस क्षेत्रको विकास तथा राष्ट्रिय समृद्धी हुने भएकाले राष्ट्रिय गौरबको योजनाका रुपमा अगाडी बढाउन स्थानीय पालिकाहरुले संयुक्त रुपमा माग गरेका थिए ।
पर्वत जिल्लाका फलेवास नगरपालिका, कुस्मा नगरपालिका साथै बिहादी गाउँपालिका, बाग्लुङका जैमीनी नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले सरकारसँग सो परियोजना संचालनका लागि माग गरेका हुन् । सो परियोजना संचालनका लागि माग सबै पालिकाहरुको प्रतिनिधित्व गरेर विभिन्न निकायमा पुगेको फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले बताउनुभयो । ‘कालीगण्डकी नदीमा बाँध निर्माण गरि विद्युत परियोजना संचालन भएमा जल मार्ग, पर्यटन र रोजगारीको विकासमा सहयोग पुग्छ’, उहाँले भन्नुभयो–‘यस्ता परियोजनाले राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने देखेर पहल शुरु गरेको हुँ ।’
सो बहुद्देश्यीय परियोजना संचालन भएमा ४ नम्बर प्रदेश र ५ नम्बर प्रदेशका समेत केही पालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने भएकाले आँफूहरु यस्तो अभियानमा लागेको र सो आयोजनाको सोचले मूर्तरुप पाएको शर्माले बताउनुभयो । विज्ञहरुका रायका आधारमा यस्तो अभियान थालिएको र यो परियोजना संचालन ल्याउन सकेमा १ हजार मेगावाट विद्युत समेत उत्पादन हुने विज्ञहरुको राय रहेको नगर प्रमुख शर्माले बताउनुभयो ।
एकै ठाउँबाट ठूलो परिमाणमा बिजुली उत्पादन गर्न सकेमा देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने भन्दै आयोजना संचालनका लागि पहल गरिदिन सरकारसँग माग गरेका थिए । नगरप्रमुख शर्माले लगानी वोर्ड, उर्जा मन्त्रालय तथा जलश्रोत विभाग लगायतका नियकामा समन्वय गरि बजेट बिनियोजन गराउन पहल गरेको बताउनुभयो । शर्माले सुरु गरेको उक्त परियोजनाका लागि यस क्षेत्रका सांसदहरुले पनि चासो देखाएका थिए ।साभार सेतो सुर्यवाट
