Correspondent, ParbatNepal
8 years ago
1962
रोशन तिवारी पर्वत १९ जेठ । धार्मिक तथा पर्यटकिय स्थल मोदीवेनी दिव्यधामको खानेपानी आयोजनाको स्वमित्व उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकार र उपभोक्ता समितिको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको आयोजनाको स्वमित्व शनिबार एक कार्यक्रमको आयोजना गरि मोदीबेनी खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख दिपक शेरचनले मोदीबेनी खानेपानी उपभोक्ता समितिका अध्यक्ष केशबदास बैरागीलाई हस्तान्तरण गरेका हुन् ।
आर्थिक वर्ष २०७३÷७४ मा नेपाल सरकारको ९३ लाख ६० हजार ५ सय १८ र उपभोक्ता समितिको ११ लाख ४ हजार ६ सय ३१ रुपैयाँको श्रमदान मार्फत निर्माण भएको आयोजनाले मोदीबेनी दिव्यधाममा खानेपानीको चरम समस्या समाधान भएको छ । मल्याङ्दीखोलामा मुहान रहेको आयोजनाका २० हजार लिटरका २ वटा टंकि बनाइएको छ । खानेपानी आयोजना अन्तर्गत मोदीबेनीमा १०८ धारा सहित ५ वटा खानेपानीका धारा, वागलुङ नगरपालिका १४ मा ५ हजार लिटर क्षमताको एउटा टंकि, फलेबास नगरपालिका ४ मा ४ हजार लिटर क्षमताको एउटा टंकि र समुदायका लागि ४ हजार लिटरको टंकि बनाएर खानेपानीको सुबिधा पु¥याइएको छ ।
खानेपानी तथा सफाई डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले मोदीबेनी यसक्षेत्रकै धार्मिक गन्तव्य रहेको र प्रदेश ४ कै पर्यटकिय स्थल रहेका कारण खानेपानीको समस्या समाधान गर्न कार्यालयले बढि जोड दिएर काम गरेको बताए । उनले जिल्लाका धेरै ठाउँमा अझै पनि खानेपानीको समस्या रहेको बताउँदै चालु आर्थिक बर्ष समस्या भएका धेरै ठाउँमा समस्या समाधान हुन लागेको जानकारी दिए ।
मोदीबेनी क्षेत्र यसक्षेत्रकै प्रमुख धार्मिक स्थल र सामुहिक घाट पनि हो । मोदीवेनीमा बृद्धाश्रम पनि छ । नृसिँह मन्दिर पनि यहाँ रहेको छ । त्यहाँ पुग्ने धार्मिक पर्यटक तथा सर्वसाधारणहरुले खानेपानीको सुबिधा नहुँदा सास्ती पाउनुपरेको थियो । आयोजना सञ्चालन भएपछि अहिले खानेपानीको समस्या समाधान भएको नृसिँह मन्दिर संरक्षण समितिका अध्यक्ष गोपालदास वैरागीले बताए । पोहोर सम्म मोदी र कालीगण्डकीको फोहोर पानी छानेर प्रयोग गर्नुपर्ने अवस्था थियो,’ बैरागीले भने,‘ अहिले खानेपानीको समस्या समाधान भयो ।’ उनले खानेपानीको योजना पार्न ठुलो लडाई लड्नुपरेको बताए ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष केशवदास बैरागीले मोदीबेनीमा पूर्वाधार थप्ने क्रममा सबैभन्दा महत्वपूर्ण मानिएको खानेपानीको समस्या समाधान भएकोमा खुशी व्यक्त गरे । ‘२०६८ सालमा महायज्ञ लगाउँदा खानेपानीको ठुलो समस्या प¥यो, बैरागीले भने,‘ खानेपानीको योजना बोकेर सरकारी निकाय धाउँदै जाँदा तत्कालिन खानेपानी डिभिजन कार्यालय प्रमुख रहेका प्रताप शर्मा पौडेलले योजना कार्यान्वयन गराउनुभएको हो ।’ उनले कुनै पनि राजनीतिक तहबाट मोदीबेनीको खानेपानीको समस्या समाधान गर्न चासो नदेखाएको बताए ।
मोदीबेनी खानेपानी उपभोक्ता समितिका अध्यक्ष केशबदास बैरागीले आयोजना सम्पन्न गरेपछि पनि समितिको कोषमा ८ लाख ४५ हजार ३ सय रुपैयाँ बचत रहेकाले उक्त रकम मर्मत संभार कोषको रुपमा परिचालन गर्ने जानकारी दिए । निर्माणकर्ता गरिजाप्रसाद तिवारीले १० हजार र ईन्जिनियर बिधान अर्यालले कोषमा ५ हजार रुपैयाँ थप सहयोग गर्नुभएको छ ।
