Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1634




बिहादीका कर्मचारीले हराए २३ लाख
बिहादीका कर्मचारीले हराए २३ लाख


असार ३ पर्वत । पर्वतको विहादी गाउँपालिका ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदानको २३ लाख रुपैयाँ बाटोमा नै गायब भएको छ। शुक्रबार सदरमुकाम कुश्मास्थित नेपाल बैंकबाट रकम झिकेर गाउँपालिका जाँदै गर्दा रकम हराएको हो। रकम कहाँ र कतिबेला हराएको भन्ने केही तथ्य भने खुलेको छैन।

गाउँपालिकाले वितरण गर्ने सामाजिक सुरक्षाको रकम लिन शुक्रबार विहादी गाउँपालिकाका लेखा अधिकृत गोबिन्द भट्टराई, वडा नम्बर २ बर्राचौरका सचिव लिलाधर पराजुली, वडा नम्बर ४ वहाकीका वडा सचिव ईश्वरी न्यौपाने, वडा नम्बर ५ उरामका वडा सचिव कृष्ण भुसाल र वडा नम्बर ६ शालिग्रामका वडा सचिव सुनकुमारी भट्टराईले गाडी रिजर्भ नै गरेर गएका थिए। उनीहरुले बैँकबाट रकम झिकेपछि चारैजना कुश्माकै फ्रेण्डली होटेलमा बास बसेका थिए।

शनिबार कुश्माबाट गाउँपालिका हिँडेका उनीहरुले पोखराको होटेलमा खाना खाए। रिजर्भ गाडी भएको हुनाले उनीहरुले रकमतर्फ भने ध्यान दिएनन्। पोखरा खाना खाएपछि उनीहरु स्याङजाको बाटो हुँदै पर्वत फर्किए।

स्याङजाको बयरघारीमा पुग्दा रिजर्भ गरेको गाडी बिग्रियो। गाडी बिग्रिएपछि बल्ल सचिवहरुले झोलातर्फ ध्यान दिए। छुट्टाछुट्टै झोलामा छुट्टाछुट्टै वडाको रकम राखेतापनि त्यहाँ वडा नं. ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदान राखिएको झोला भने गायब थियो।

विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालका अनुसार झोला गायब भएपछि सचिवहरुले उनलाई सम्पूर्ण घटनाबारे जानकारी गराएका थिए।

रकम हराएपछि भने सचिवहरुले गाउँपालिकाका कार्यकारी अधिकृत दिनेश भुसाल र आफुलाई फोनमार्फत जानकारी गराएको भुसालले बताए।

‘रिजर्भ गाडी भएको र चारैजना सचिवसँगै भएको हुँदा कसैलाई शंका गर्ने वातावरण पनि भएन्, मैले गाडीमा नै कतै परेको हुनसक्छ राम्रोसँग खोज्न लगाएँ’ भुसालले भने, ‘तर, लाखौँ रकम हराएको निश्चित भएपछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन भनेको हुँ।’

रकम हराएपछि कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए। सबै कर्मचारीहरु प्रहरीको शरणमा आएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी उपरीक्षक दिलिप घिमिरेले सामान्य सोधपुछ मात्र गरिएको बताए । उनले भने, ‘रकम हराएको जानकारी पाएपछि सम्भावित ठाउँमा खोजवीन गरेका छौँ, कर्मचारीहरुसँग पनि सोधपुछ गरिएको छ ।’ दोषी पत्ता नलागेसम्म कारवाहीको प्रक्रिया अगाडि बढाउन नमिल्ने उनले जनाए ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी डिल्लिराम शर्माका अनुसार प्रशासनमा रकम हराएको बारे जानकारी आएको र अनुसन्धान प्रक्रिया अगाडि बढाईएको छ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)