Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1826




बजेट आधाभन्दा बढी सडकमा
बजेट आधाभन्दा बढी सडकमा

पर्वत — बिहादी गाउँपालिकाले विकासतर्फका २१ शीर्षकमध्ये सडकमा सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । विनियोजित बजेट हिसाब गर्दा प्रतिपरिवार २० हजार रुपैयाँ पर्न आउँछ ।

गाउँ कार्यपालिकाको कार्यालयका अनुसार ६ वटा वडामा समेटिएको गाउँपालिकामा करिब २ हजार २ सय परिवार छन् । गाउँपालिकाले चालु वर्ष पुराना सडक स्तरोन्नति, विस्तार तथा नयाँ सडक खन्न मात्र ४ करोड ४० लाख ५० हजार बजेट विनियोजन गरेको छ । गाउँपालिकाको पहिलो गाउँ सभाले पारित गरेको चालु वर्षको योजनामा २१ शीर्षकका ३ सय ३६ योजना छन् । सबै योजनामा गरि चालुतर्फ ८ करोड १७ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँसभाले अन्य पूर्वाधारमा भन्दा सडकलाई प्राथमिकतामा राखेर ५० प्रतिशतभन्दा बढी विकास बजेट खर्च गर्न लागेको हो ।

गाउँपालिकाका ६ वडामा १ सय ३ योजना सडकसँग सम्बन्धित छन् । गाउँसभाले १५ हजारदेखि २० लाखसम्मका सडक योजनामा बजेट विनियोजन गरेको छ । हतारमा गरिएको गाउँसभाले अन्य विषयगत विकासमा भन्दा सडकलाई नै प्राथमिकता दिनु भूल भएको गाउँपालिका अध्यक्ष कमलप्रसाद भुषाल बताउँछन् । उनले सडकमा भूलबस करिब ६० प्रतिशत लगानी गरिएको बताए । ‘असारसम्म गाउँसभा गरिसक्नु भन्ने माथिको आदेश थियो,’ भुषालले भने, ‘हामी भर्खरै चुनाव जितका सबै नयाँ । विषयगत विज्ञ कर्मचारीको अभावले यस्तो हुन गयो ।’ गाउँवासी र सबै वडाध्यक्षहरूका प्राथमिकतामा सडक नै परेपछि धमाधम सडकमा बजेट विनियोजन गरिएको उनले बताए । ‘यसले विकासमा ब्यालेन्स हुँदैन । हामीलाई थाहा छ तर भूलबस नहुने काम भइरहेको छ । अब शीर्षकान्तर गर्न मिलेन,’ उनले भने ।

गाउँपालिकाले नयाँभन्दा पुराना सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखेको जनाएको छ । ‘धेरैजसो गाउँमा सडक पुगिसकेकाले नयाँलाई प्राथमिकता दिइएन,’ प्रमुख प्रशासकीय अधिकृत दिनेश शर्माले भने, ‘आवश्यकता हेरेर नयाँलाई पनि बजेट छ । न्यूनतम आवश्यकताका पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने भए पनि स्थानीयले सडकमै माग केन्द्रित गरेकाले चालु वर्ष बजेट बढी पर्न गएको उनले बताए ।

खानेपानी, स्वास्थ्य, शिक्षा, कृषिसहित केही मुख्य आवश्यकता छाडेर सडकमै बजेट खन्याउनु अदूरदर्शिता भन्दै केही सचेत युवाहरूले भने असन्तुष्टि जनाएका छन् । ‘यहाँको मुख्य समस्या खानेपानीको छ,’ बिहादी ३ का हरि न्यौपानेले भने, ‘गाउँसभाले सडकलाई मात्रै समस्या देख्यो । सडकमा बजेट खन्याइरहँदा सडकमा गुड्नसक्ने गाउँवासीको क्षमता पनि हुनुपर्‍यो । त्यसका लागि खानेपानी, सिँचाइ, शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकता दिनुपर्ने हो ।’ स्थानीयका न्यूनतम आवश्यकतामा पर्ने शिक्षा, स्वास्थ्य, खानेपानी र खाद्य अधिकारलाई प्राथमिकता दिनु राज्यको कर्तव्य हो । तर, गाउँपालिकाले मुख्य प्राथमिकता छाडेर सडकमा मात्रै बजेट खर्चनुले विकासमा असन्तुलन हुने स्थानीयको आरोप छ । बिहादीका अध्यक्ष भुषालले अघिल्लो गाउँसभाका योजनाले धेरै सिकाइ भएको भन्दै अब त्यस्तो नहुने बताए । साभार - कान्तिपुर दैनिक

सम्बन्धित समाचार (विहादी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)