Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1816




होश्राङदीमा खाद्यान्न भन्दा बढि मदिरा आयात (८० लाखकाे खाद्यान्न भित्रिँदा डेढ कराेडकाे मदिरा अायात)
होश्राङदीमा खाद्यान्न भन्दा बढि मदिरा आयात (८० लाखकाे खाद्यान्न भित्रिँदा डेढ कराेडकाे मदिरा अायात)

पर्वतको महाशिला गाउँपालिका १ होश्राङ्दीमा एक वर्षमा खाद्यान्न भन्दा बढि रक्सी आयात भएको पाईएको छ । एक अध्ययनका अनुसार ८० लाखको खाद्यान्न आयात हुँदा होश्राङदीमा १ करोड ५० लाख रुपैयाँको मदिरा भित्रिएको छ ।

महाशिला गाउँपालिकाले रक्सी नियन्त्रण अभियान चलाईरहेतापनि वार्षिक करोडौँको मदिरा आयात हुने गरेको पाईएको हो । गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले भने, ‘डेढ करोडको मदिरा भित्रिएको छ, तर खाद्यान्न ८० लाखको भित्रिएको छ, त्यस्तो मदिरा रोक्न सकेमा एउटा वडामा डेढ करोड बचत हुन्छ, त्यही होइन समृद्धि ?’ एउटा वडामा मात्रै खाद्यान्न भन्दा ७० लाख बढीको मदिरा भित्रिनु निकै खतरा भएको उनले बताए ।

गाउँपालिकाभरि मदिरा बिक्रीका लागि तीन÷चार वटा पसल मात्रै दर्ता भएको र त्यस्ता पसललाई गैरकानुनी रूपमा मदिरा बिक्री गर्न कडाइ गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले अब कुनै पनि नयाँ पसललाई मदिराजन्य वस्तु बिक्रीका लागि अनुमति नदिने स्पष्ट पारेको छ। मदिरा सेवनका कारण वर्ष दिन नबित्दै आधा दर्जनले हाम फालेको प्रसंग उठाउँदै गाउँपालिका अध्यक्ष पौडेलले घरेलु मदिरा उत्पादन, बिक्री–वितरण गरेर जिविकोपार्जन गरेकालाई गाउँपालिकाले उनीहरूको चाहनाअनुसार अन्य कुनै पनि पेसा, व्यवसायमा सहयोग गर्ने नीति लिएको पनि जानकारी दिए ।

पौडेलका अनुसार हाल वडा नम्बर ३ मात्र मदिरा नियन्त्रित क्षेत्र भए पनि गाउँपालिकाका अन्य पाँचवटा वडालाई समेत मदिरामुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ। 

गाउँपालिका सबै वडालाई मदिरा नियन्त्रित क्षेत्र घोषणा गर्ने अभियानमा जुटेको छ । वडा नम्बर १ का हरेक टोललाई मदिरा नियन्त्रित क्षेत्र घोषणा गर्न थालिएको छ ।

वडा नम्बर ३ भने यसअघि नै घोषणा गरिसकिएको छ। गाउँमा बढी मदिरा तथा कानुनले निषेध गरेका गाँजाका साथै जुवातासका क्रियाकलापले झैझगडा तथा आपराधिक क्रियाकलाप हुने गरेको भन्दै वडा कार्यालयले गाँजा, रक्सी, जुवातास नियन्त्रित क्षेत्र घोषणा गरेको वडा नम्बर ३ का वडा अध्यक्ष गुरुङले जानकारी दिए ।

गाँजा, मदिरा र जुवातास नियन्त्रित क्षेत्रमा मदिरा भेटिन थालेपछि महाशिला गाउँपालिका–३ का वडा अध्यक्ष कर्णप्रताप गुरुङ (रोशन) शंकास्पद घरमा छापा मार्न सक्रिय भएका छन् ।

मदिराका कारण झैझगडा, पारिवारिक कलह, विखण्डन, विभिन्न प्रकारका अपराध बढेपछि महाशिला–३ बालाकोटलाई गत असोज ८ गते मदिरा, गाँजा र जुवातास नियन्त्रित क्षेत्र घोषणा गरिएको थियो। गुनासो आएपछि वडा अध्यक्ष गुरुङको नेतृत्वमा प्रहरीसहितको टोलीले शंकास्पद घर र पसलमा छापा मारेर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

केही दिनयता वडा अध्यक्ष गुरुङ आफैं सक्रिय भएर वडाका मदिरा उत्पादन गर्ने शंकास्पद घरहरूमा निगरानी बढाउँदै आएका छन् । गाउँपालिकाले अब कुनै पनि नयाँ पसललाई मदिराजन्य वस्तु बिक्री–वितरणका लागि अनुमति नदिने स्पष्ट पारेकाे छ ।

nagariknews
सम्बन्धित समाचार (महाशिला गाउँपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)