Correspondent, ParbatNepal
6 years ago
2139
जेठ १३, पर्वत । यहाँको एक नगरपालिकाले बाँझो जमिनमा खेती गरे अनुदान दिने भएको छ । पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिनमा खेती गरे अनुदान दिने निर्णय गरेको हो । उत्पादन बढाउन र खाद्य संकट नहोस् भनेर किसानलाई अनुदान घोषणा गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले बताउनु भयो । नगरको कार्यपालिका बैठकबाट कोरोना भाइरस संक्रमण थप फैलिन सक्ने र खाद्य संकटसमेत निम्तिन सक्ने भन्दै बाँझो जमिनमा खेती गर्न प्रोत्साहन गर्ने नीति लिएको उहाँको भनाइ छ ।
नगरपालिकाले दुई वर्षभन्दा बढी समय बाँझो रहेको जमिनमा खाद्यान्न जस्तै मकै, कोदो र धान खेती गर्ने किसानलाई अनुदान दिने निर्णय गरेको नगरप्रमुख शर्माले जानकारी दिनुभयो । ‘हामी आत्मनिर्भर हुनेतर्फ योजना बनाउन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘यस्तै अवस्था आउने हो भने विदेशबाट खाद्यान्न आयात हुन समस्या आउन सक्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले हामीले आफ्नै उत्पादनमा जोड दिनुपर्छ ।’
नगरपालिकाले बाँझो जमिनमा खेती गरे वडा कार्यालयवाट प्राप्त तथ्याङकको आधारमा अनुगमन गरि बास्तविक देखिएमा मल, बीउ व्यवस्थापनको लागि प्रतिरोपनी २ हजार रुपैयाँ दिनेछ । साथै नगरपालिकाले खेती गरिने स्थान वरिपरी अनुत्पादशील रुख कटानीछटानीको व्यवस्था गर्नुपर्ने भनेको छ । इच्छुक व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, सम्बन्धित टोलको सिफारिस, जग्गा धनी प्रमाणपत्र र लिज वा भाडामा भए सम्झौता पत्र र लिनेदिनेको नागरिकताको प्रमाणपत्र सहित १५ दिनभित्रमा वडा कार्यालयमा बुझाउनु पर्ने जनाएको छ ।
