Correspondent, ParbatNepal
7 years ago
3102
फागुन ८, पर्वत । पर्वतमा निर्माणाधिन २० मेगावट क्षमताको तल्लो मोदीखोला जलबिद्युत आयोजनाले आगामी महिनाबाट परिक्षण उत्पादन गर्ने तयारी गरेको छ । तोकिएको समयभन्दा करिब ३ वर्षपछि आयोजनाले उत्पादन दिने तयारी भएको जानकारी दिएको छ ।
भित्री र बाहिरी पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले अव उत्पादनका लागि तयार भएको आयोजना प्रमुख पवन यादवले जानकारी दिनुभयो । २०६९ साउनमा निर्माण सुरु भएको आयोजनाको उत्पादन लक्ष्य ०७४ असारमा थियो । तर, विभिन्न कारण देखाउँदै आयोजनाले उत्पादन मिति धकेल्दै आएको थियो । भारतीय नाकाबन्दी, भूकम्प, विभिन्न समयमा भएका आन्दोलन, वर्खामा टनेलभित्र आएको पहिरो, कर्मचारीको आन्दोलन जस्ता कारण देखाएर आयोजनाले उत्पादीत मिति धकेल्दै आएको थियो ।
मनाङ ट्रेड लिंक, फेवा कन्स्ट्रक्सनलगायतका व्यवसायी कम्पनीले टनेल, पावरहाउस र ड्याम क्षेत्रमा काम गरिरहेकाले त्यसको अन्तिम रिपोर्ट आउनासाथ परीक्षण उत्पादन सुरु गरिने आयोजना प्रमुख यादवले बताउनुभयो । ३ अर्ब ६० करोडको लागत स्टिमेटमा सुरु भएको आयोजनाले निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत पनि बढेको छ ।
आयोजनाले वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनाको इन्जिनियरिङ लगायत कन्स्ट्रक्सनको ठेक्का मनाङ ट्रेडलिङ र साउथ एसियन एन्फ्रास्टक्चरले गरिरहेका छन् । मनाङसँग मिलेर फेवा कन्स्ट्रक्सनले ‘सबकन्ट्रयाक्ट वर्क’ गरेको हो । कुश्मा नगरपालिका र मोदी गाउँपालिका यो आयोजनाका प्रभावित क्षेत्र हुन् ।
