Correspondent, ParbatNepal
6 years ago
1563
चैत ११ पर्वत । पर्वतमा बिदेशबाट फर्किएकालाई क्वारेण्टाईनमा राखिएको छ । जिल्लाको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीका ७ जनालाई होम क्वारेण्टाईनमा राखिएको हो । कोरोनाको विश्वव्यापी त्रास फैलिरहेको बेला बिदेशबाट आएका मानिसहरुमा संक्रमण हुन सक्ने भएकाले उनीहरुको लगत राखेर होम क्वारेण्टाईनमा राखिएको वडाध्यक्ष जीवन उचै ठकुरीले जानकारी दिनुभयो ।
कतारबाट फर्केका २ जना र भारतबाट फर्केका ५ जनाको पहिचान गरि घरमै क्वारेन्टाईनमा राखिएको ठकुरीले जानकारी दिनुभयो । गाउँमा रोग आउन अरु माध्यम नभएपनि वाहिर बाट आएकाहरु बाट सर्न सक्ने संभावना भएकाले गाउँमा आउनेहरुको बिबरण राखेर उनीहरुको प्रत्यक्ष निगरानी गरिएको ठकुरीले बताउनुभयो ।
कुनै पनि माध्यमबाट रोग आउन नदिन वडाले सचेतना फैलाईरहेका बेला गाउँ फर्किनेहरुबाट चुनौती देखेपछि उनीहरुलाई होम क्वारेण्टाईनमा पठाएको जानकारी दिएको छ । बढि जमघट हुने लुँखु देउराली बजार, अन्य गाउँका चोक र पसलहरुमा मानिसहरुको भीड हुन रोक लगाईएको छ । वडाले निशुल्क रुपमा मास्क वितरण गर्ने काम पनि गरेको छ । नियमित सावुनपानीले हात धुन अनुरोध गर्दै आएको ठकुरीले बताउनुभयो ।
