Correspondent, ParbatNepal
8 years ago
1805
बैशाख ३, पर्वत । पर्वतको जलजला गाउँपालिकाले पशुपालक कृषकहरुलाई व्यवसाय प्रवर्दनका लागि अनुदान सम्झौता गरेको छ । पशुपालनको पकेट क्षेत्र जलजला गाउँपालिकाका सबै ९ वटै वडाका कृषक संग आवश्यकता र मागका आधारमा अनुदान सम्झौता गरिएको हो ।
कृषकहरुलाई भैसीपालन, वाख्रापालन, कखुरापालन, भकारोसुधार, डेरी उद्योग सुधार, फ्रेस हाउस सु्धार कार्यक्रममा अनुदान दिन सम्झौता गरिएको हो । गाउँपालिकाले सम्झौता भएका कृषकहरुलाई बिभिन्न सर्त राखेर सम्झौता गरेको पशु सेवा शाखाका प्रमुख पशु चिकित्सक बिमल शर्मा पौडेलले जानकारी दिनुभयो । सम्झौतामा उल्लेख भएका सर्तहरु १५ दिनमा पुरा गनुपर्ने जनाइएको छ ।
कृषकहरुलाई वाख्राको खोर सुधार, गोठ सुधार, कुखुरापालन, डेरी सुधार लगायतका शिर्षकमा अनुदान सम्झौता भए अनुसार उनीहरुले कार्य सम्पादन गरेको अनुगमन पश्चात पक्कापक्कि गरेपछि कृषकहरुकै खातामा सम्झौता अनुसार रकम भुक्तानी गरिने छ ।
काम नगर्ने कृषकहरुलाई भने सम्झौता गरे पनि अनुदान दिन गाउँपालिका बाध्य नहुने प्रमुख प्रसाकिय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । बिगतमा कृषकहरुले अनुदान लगेर अपेक्षित काम नगरेको गुनासो आउने गरेको थियो । त्यसैले गाउँपालिकाले अनुदान बितरणमुखी भन्दा उपलब्धीमुलक बनाउन पहिले सम्झौता गरि काम गरेपछि मात्रै भुक्तानी व्यवस्था गरिएको गौतमले बताउनुभयो । गाउँपालिकामा आईतबार कृषकहरुलाई अनुदान सम्झौता गरिएको हो ।
लगानी हेरेर कृषकहरुलाई १ लाख देखि २५ हजार सम्म अनुदान बितरण गरिएको पशु चिकित्सक पौडेलले जानकारी दिनुभयो । उहाँले यूवा लक्षित कार्यक्रम अन्तर्गत अनुदानको माग भए बमोजिम कृषकहरुलाई अनुदान दिएको बताउनुभयो । यसअघि सूचना मार्फत कृषकहरुका माग संकलन गरिएको थियो । गाउँपालिकाका अध्यक्ष यामबहादु्र मल्लले कृषकहरु संग अनुदान सम्झौता हस्तान्तरण गरेर अनुदान बितरणको शुभारम्भ गर्नुभएको थियो ।
मल्लले अनुदान सम्झौता भएका कृषकहरुलाई व्यवसायिक रुपमा अघि बढ्न् आग्रह गर्नुभयो । अनुदान लगेर अपेक्षित काम नगरेको पाए अनुदान फिर्ता ल्याउने उहाँले बताउनुभएको छ । जलजलामा पछिल्लो समय बिदेशबाट फर्किएका यूवाहरु प्राय पशुपालनमा र कृषि पेशामा संलग्न रहेका छन् । थोरै व्यवसायिक र अधिकाँश परम्परागत कृषि पेशामा संलग्न रहेका छन् ।
परम्परागत पशुपालन र कृषिलाई व्यवसायिक बनाउन गाउँपालिकाले योजना बनाएको अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो ।
