Correspondent, ParbatNepal
8 years ago
1752
जेठ ३१, पर्वत । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा महिलाहरुको पाठेघर समस्या पहिचान, उपचार तथा व्यवस्थापन सम्वन्धी एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ । शिविरमा १ सय १० जना महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
जलजला–१ बाँसखर्कको आयोजना र जलजला गाउँपालिकाको सहयोगमा उक्त शिविर सम्पन्न भएको हो । उक्त शिविरमा जिल्ला अस्पताल पर्वतकी स्त्री तथा महिला रोग विशेषज्ञ हेमा छन्त्याल, जिल्ला अस्पताल म्याग्दीका जनस्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्य, ल्याप टेक्निशियन यामवहादुर थापा,सिनियर अहेव टंकनाथ शर्मा, जलजला गाउँपालिका जन–स्वास्थ्य संयोजक दिलेराम कामती, स्वास्थ्य चौकी बाँसखर्कका इन्चार्ज अनिन्द्रप्रसाद यादव लगायतको प्राविधिक टोली खटिएको थियो । कार्यक्रमको उद्घाटन गदै जलजला गाउँपालिका– १ बाँसखर्कका वडा अध्यक्ष तुलसीराम रेग्मीले महिलामा स्वास्थ्यसम्वन्धी समस्या लुकाउने परिपाटी रहेको र गाउँगाउँसम्म सेवाको पहुँच नभएकाले यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
उक्त अवसरमा वडा भित्र रहेका जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको छ । जेष्ठ नागरिकहरुलाई हैसला प्रदान गर्ने सम्मान गरिएको वडा सदस्य युवराज अर्मजाले जानकारी दिनुभयो । उक्त कार्यक्रमको संचालन वडा सचिव गौत्तम जिसीले गर्नुभएको थियो ।
