Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

3540




चर्चामा आउन संस्था खोलेका होईनौँ
चर्चामा आउन संस्था खोलेका होईनौँ

दधि आचार्य पर्वत वेलफेयर सोसाईटी युकेका अध्यक्ष हुन् । उनी पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङ निवासी हुन् । रोजगारीको शिलशिलामा बेलायत पुगेका आचार्यले व्यवसाय समेत गरेका छन् । जन्मथलो छाडेर रोजगारको लागि विदेशिएका आचार्यले विदेशमा नै रहेर पनि विभिन्न सामाजिक सहयोगहरुलाई भने निरन्तरता दिईरहेका छन् । मातृभूमि पर्वतलाई सेवा गर्ने भनेर स्थापना गरिएको पर्वत वेलफेयर सोसाईटीको नेतृत्व उनैले गरेका छन् । आचार्य अध्यक्ष रहेको उक्त संस्था, संस्थाको उद्धेश्य र जिल्लाको लागि गरेका र गर्ने कामबारे पर्वत नेपाल डटकमले गरेको कुराकानी :

तपाई पर्वत वेलफेयर सोसाईटी युकेको अध्यक्ष हुनुहुन्छ ? यो संस्था के का लागि स्थापना गरिएको हो ?

मुख्यतः देशविदेशमा रहेका पर्वतेलीहरुलाई एक गर्नु नै संस्थाको मुख्य उद्धेश्य हो । पर्वतेलीहरुलाई एकीकृत गरि क्षमताले भ्याएसम्म संस्थामार्फत मातृभूमिको सेवा गर्न संस्था स्थापना गरेका हौँ । कुनैपनि व्यक्तिगत सेवाको तुलनामा संस्थाको सहयोग प्रभावकारी हुने हुँदा नेपाली संस्कृतिको संरक्षण गर्ने, संस्थामार्फत बेलायतमा अस्तित्वमा रहेका नेपाली संघसंस्था सँग समन्वय गरि भाईचारा गर्ने उद्धेश्यले सन् २००२ मा स्थापना भएको हो । सामाजिक, आर्थिक, सांस्कृतिक योगदानमार्फत जिल्लाको समृद्धी पु¥याउने संस्थाको मुख्य उद्धेश्य हो ।

विदेशमा बस्नेहरुले चर्चामा आउनको लागि संस्था खोल्छन भन्ने छ नि ? संस्था स्थापना भएको वषौँ भईसक्यो ? संस्थाले अहिलेसम्म गरेका केही काम ? 

यो प्रश्नसँग म सहमत छैन् । चर्चा हुन अरु माध्यम पनि छन्, । संस्था खोल्न जरुरी छैन र मञ्चमा गएर भाषण गर्दामात्रै चर्चित भईन्छ भन्ने होईन् । भ्रम हो । संस्थाको उद्धेश्य यो होईन् ।

हामीले दीर्घकालीन लोकप्रियताको लागि केही कल्याणकारी काम गर्दा मात्र त्यसले अर्थ राख्छ् । संस्था सामाजिक आर्थिक क्षेत्रमा योगदान पु¥याउनको लागि गठन गरेका हौँ । हामी सामाजिक सेवा गर्ने उद्धेश्यले संस्था स्थापना गरेका हौँ । हामीलाई जबर्जस्ती कसैले चिनुन भन्ने पनि लाग्दैन् । सामाजिक सेवा जहिले पनि निस्वार्थ र सेवामूलक हुन्छ, हाम्रो संस्थाको मर्म पनि त्यही नै हो ।

"जिल्लाका कलाकारलाई प्राथमिकता दिनु हाम्रो संस्थाको सामाजिक, सांस्कृतिक उद्धेश्य हो ।"

संस्थाले यसअघि पनि गरेका कामबाट हाम्रो उद्धेश्य प्रष्ट हुन्छ । पर्वत वेलफेयर सोसाईटी युकेले पर्वत जिल्लाको सदरमुकाम कुश्मास्थित शिवालय माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीको लागि १० लाखको अक्षयकोष स्थापना गरेको छ । हामीले भूकम्पको बेलामा आटवटा विद्यालयहरुको पुनर्निर्माणमा सहयोग पनि ग¥यौँ । यी बाहेक मानवीय समस्या जस्तै, मृगौलापिडित, क्यान्सर भएका, घरवार विहिन, देखि लिएर राष्टिय महत्वको विषय महावीर पुनको आविष्कार केन्द्रलाई सहयोग गरेका थियौँ ।

एनआरएन युकेको हाउजि प्रोजेक्ट देखि लिएर प्राकृतिक विपत, मानवीय घटनामा हामीले व्यक्तिगत खर्चलाई समुहमा जम्मा गरि संस्थागत माध्यमबाट वितरण गरेका छौँ । अन्य संस्थामा सहयोग पनि गरेका छौँ ।

नेपालबाट सांसद कलाकार बोलाएर कार्यक्रम गर्नुहुन्छ ? त्यसको सट्टा जिल्लामा नै कुनै उत्पादनमुलक संस्थामा लगानी गर्दा के हुन्छ ? 

हामीले अहिलेसम्म कुनै सांसदहरुलाई ल्याएका छैनौँ । सान्दर्भिक र अर्थ राख्ने तथा जिल्लाकै लागि केही गरौँ भन्ने हिसाबले हामीले कलाकारहरुलाई बेलायत भ्रमणमा बोलाएका छौँ । कलाकार राष्ट्रका गहना र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने सम्मानयोग्य पात्र हुन् । 

उहाँहरुलाई प्रोत्साहन तथा विदेशी संस्कृति, रहनसहन अवलोकनको लागि बोलाएका थियौँ । जिल्लाका कलाकारलाई प्राथमिकता दिनु हाम्रो संस्थाको सामाजिक, सांस्कृतिक उद्धेश्य हो । उहाँहरु आएर कार्यक्रममा प्रस्तुति दिनुहुन्छ । त्यहाँबाट संकलित रकम हामीले पर्वतमा नै माथि उल्लिखित विविध क्षेत्रमा नै सहयोग गछौँ गरेका छौँ ।

आफ्नो खर्चमा कलाकार बहोलाउनु हाम्रो उद्धेश्य होईन, राष्ट्रले चिनेका व्यक्ति ल्याएर सामाजिक सेवाको निम्ति गरिने कार्यक्रमको प्रभाव बढि हुने र यसबाट जिल्लाको पहिचान र जिल्लालाई तुलनात्मक रुपमा बढि सहयोग गर्न सकिन्छ भन्ने हाम्रो उद्धेश्य हो ।

कुनै स्वार्थ र धन बढि भएर हामीले नेपालबाट कलाकार बोलाउने, घुमाउने र पठाउने गरेका छैनौँ ।

अन्तराष्ट्रिय पर्वत समाज, अन्तराष्ट्रिय पर्वत समाज युके हुँदाहुँदै यो संस्था स्थापना गर्नुको औचित्य के ? यी संस्था दलका जनसम्पर्क समिति पनि हुन भन्ने आरोप लाग्छ नि ? 

यो पर्वत समाज बेलायतमात्र भएर विश्वका सबै पर्वतेलीलाई समेट्न सक्दैन् । सबैलाई समेटेर संगठित माध्यमबाट हामीले ठुलो योगदान पु¥याउन सक्छौँ । संस्थालै एक करोडको परोपकारी अक्षयकोष स्थापनाको घोषणा गरेको छ । सोसाईटीले मात्र यो गर्न सम्भव छैन् । यसकारण हामीले पर्वतेली र गैरपर्वतेलीहरुको सहयोग मार्फत नै हामीले यो कार्य गर्न सक्छौँ । मानवीय नाताले हामीले सबैलाई यस पुनित कार्यमा सहभागी गराउने छौँ । यो एक माध्यम मात्र हो । अन्तर्राष्ट्रिय पर्वत समाज यसै उद्धेश्यले गठन गरेका हौँ ।

जनसम्पर्क समिति भन्ने प्रश्नबारे म विमती राख्छु । हामी कुनै पनि राजनीतिक दल, जाती, वर्ग, निश्चित क्षेत्रलाई प्राथमिकता दिँदैनौँ । यो संस्थाको नीति भन्दा बाहिरको कुरा हो । माथि पनि भनिसकेँ, सामाजिक सेवा भन्ने बित्तिकै संस्थाको सेवा प्रष्ट हुन्छ । हामी कुनै दलीय आड लिएर भातृ संघ गठन गरेका होईनौँ ।

राजनीति गर्नेहरुको छुट्टै संगठन छ । यो नितान्त फरक संस्था हो । हामीले कसैको समर्थन र विरोध गर्दैनौँ । विशुद्ध सामाजिक संस्था हो ।

संस्थाका लक्ष्य र चुनौती केके छन् ?

संस्थामा आफैमा बृहत शब्द हो । यसले ठुलो भन्ने अर्थ लाग्दछ । ठुलो भन्दाबित्तिकै चुनौती हुनु स्वभाविक नै हो । चुनौती नभएका होईनन् । शारीरिक अशक्तता देखि लिएर जिल्लाको अवस्थाको बारेमा सहयोग गर्न मन लाग्छ । यहाँ च्यारिटी कार्यक्रम गर्छौँ, नेपाली कार्यक्रम यहाँ पनि हुन्छ्, त्यसको व्यवस्थापन गरिदिन भन्नुहुन्छ । तर, हाम्रो संस्था धनी छैन् । व्यक्तिखर्च नै आर्थिक स्रोत हो । सिमित स्रोत, जनशक्ति अनि समय व्यवस्थापन गर्न कठिन नै हुन्छ तर पनि हामी सक्दो गर्न तयार छौँ ।

अर्को कुरा, संस्थाको लक्ष्य भनेको हामीले बेलायत र नेपालमा रहेका नेपालीहरुको हकहित, आर्थिक समृद्धी, शिक्षा लगायतका क्षेत्रमा काम गर्ने हो । कुनै बेला संस्थाको उद्धेश्य भन्दा पनि समसामायिक विषय महत्वपूर्ण हुन्छन्, त्यसका लागि हामी तत्पर रहन्छौँ । मानवीय आवश्यकताको सिद्धान्तबमोजिम आधारभूत आवश्यकता दिलाउन हामीले समन्वय गर्ने प्रयास गर्नेछौँ ।

अन्तिममा तपाईले भन्नुपर्ने कुरा ? पर्वतनेपाल डटकम अनलाईनको बारेमा तपाईले भन्नुपर्ने केही कुरा ?

अन्तमा म फेरि पनि भन्न चाहान्छु, हाम्रो संस्था समाजसेवाको लागि स्थापना गरेका हौँ । संस्थाको बारेमा भनाई राख्ने अवसर दिनुभएकोमा पर्वत नेपाल डटकम प्रति आभारी छु । यो टिमलाई शुभकामना दिन चाहन्छु । समाज परिवर्तनको ऐनाको रुपमा रहेको सम्मानित पेशा पत्रकारिता प्रति मेरो सम्मान पनि छ ।

धन्यवाद ।।

na
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( अन्तर्वार्ता)